सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने, खगराजलाई मुख्यमन्त्री हुने बाटो खुल्यो

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।
बजेटको विषयमा विवाद बढेपछि शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए । सोही दिन एमालेले शाह सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले बिहीबार स्वत: पदमुक्त हुनेछन् ।

तर, शाहले अल्पमतमा परेको २९औं दिनमा बुधबार कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन् । नेपाली कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काले दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारका विषयमा निर्णय हुने बताइन् । उनकाअनुसार शाहले पदबाट राजीनामा दिनेछन् ।

तर, प्रदेश प्रमुखलाई सोझै राजीनामा दिने कि प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरी प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउने भन्ने विषयमा मुख्यमन्त्रीले परामर्श गर्नेछन् । ‘एमालेले समर्थन फिर्ता लिएपछि हामी स्पष्ट रुपमा अल्पमतमा परेको कुरा सबैलाई थाहै छ । नेकपा र एमालेको सहकार्यले प्रदेश सभामा नयाँ सम्भावना नदेखिएकाले उहाँले राजीनामा दिनुहुन्छ’, खड्काले भनिन्, ‘त्यसै विषयमा परामर्श गर्न मुख्यमन्त्री ज्यूले दलको बैठक बोलाउनुभएको हो ।’

मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वको सरकार टिकाउन नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को साथ नखोजेका भने होइनन् तर, केन्द्रमा नेकपा र एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि शाहको प्रयास विफल भएको थियो ।

प्रकाशित मितिः   २०८३ साउन २७ at 11:12 am 

  • कमेन्ट (Comment)