
तस्बिर : कनका खबर ग्राफिक्स
कसको आवाज हो हँ ? निदाउन नदिने ?
एका बिहानै को हो हँ ? भोको पेटै हल्ला गर्ने ?
माटोलाई थाहा छ ।
खाली खुट्टा न्याय खोज्न राजधानी छिरेको पैतला
भित्ताको कानले सुनेको छ ।
पुरुषराजले हरेक रात दबाएको नारी आवाज ।
मान्छेले बुझेको छ ।
वर्षौं देखि उसलाई मान्छे नमान्ने को हो ?
न्याय हराउनु
आवाज दबाउनु
मान्छेले मान्छे नमान्नु
सायद, यहि होला तिम्रो गणतन्त्र !
यहाँ त,
भ्रष्टाचारको पाठ क्या मज्जाले पढाउँदै छ, शिक्षक
जसले, शिक्षक हुन घुस दिएकाे छ ।
यहाँ त,
समाज परिवर्तन उसले गर्छ
जसलेे, फोटो खिच्न मात्र ढुङ्गा बोक्ने गर्छ ।
यहाँ त,
उसैले मात्र निधो गर्न सक्छ
जसले, मुख बन्दको व्यापारमा लगानी गर्न सक्छ ।
उसले बुझेको छ, मान्छेले जेसुकै कमाए पनि भोकमा लगानी हुन्छ ।
र त उ, भोको देश भित्र भोको देखिन्छ ।
आज, एउटा लासले देशलाई गिज्याइरहेछ ।
लासले गिज्याउने देश कस्तो जिउदो हाे ?
मन पिरोलिएकाे छ ।
आँखा काचो छ ।
यूवा उड्दै छ ।
देश बाँझो छ ।
केहि सोचे जस्तो गरेर हरेक साँझ
मेराे देशकाे साशक जब निदाउन खोज्छ,
बेस्मारी…….छट्पटाउँछ ।
बरु उ, ननिदाउँदै क्रान्तिकारी र समाजवादी देखिन्छ ।
सबैकाे प्याराे देखिन्छ ।
रामु विश्वकर्मा । २०८१ असार २२