जुम्लाकाे हिमा गाउँपालिकाले आफ्नो प्रशासनिक भवनकाे शिलान्यास गरेको छ। शुक्रबार एक भव्य कार्यक्रम गरि भवन शिलान्यास गरिएको हो।
२०७४ को स्थानीय तह निर्वाचनपछि पालिकाको केन्द्र तोक्ने विषयमा विवाद भएपछि ०७९ मा निर्वाचित लक्ष्मण शाहीको पालिका सरकारले पहिलो एक महिनामा विवाद टुंग्याएको थियोे।
लामो समय भाडाको घरबाट संचालन हुँदै आएकाे हिमाकमा अब नयाँ प्रशासनिक भवन बन्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।
भवन शिलान्यास कार्यक्रममा कांग्रेस नेता दिप बहादुर शाही, उपाध्यायक्ष सुर्पना शाही, सातै वडाका अध्यक्षहरु र आम नागरिककाे उपस्थिति थियोे।
प्रशासनिक भवन हिमा गाउँपालिका वडा नं ५ स्थित बाजागडमा निर्माण हुन लागेकाे अध्यक्ष शाहीले कनका खबरलाई जानकारी दिए।
उनका अनुसार यसअघि पालिकाकाे नाममा जग्गा प्राप्त भई माटो परिक्षण गरिएको थियोे।
‘भवन निर्माणका लागि हिमा-५ का स्थानीयले तीन हजार नाै सय वर्गमिटर जग्गा राजीखुसी दान गरेका छन्,’ उनले भने।
जसमा प्रशासनिक भवन निर्माणका लागि हिमा-५ का स्थानीय कर्ण बहादुर शाही, मुन बहादुर शाही र दान बहादुर शाही ३१ सय वर्गमिटर जग्गा दान गरेका हुन्।
वडा नं ५ कै स्थानीय दलविर शाहीले आठ सय वर्गमिटर गरी कूल ३९ सय वर्गमिटर जग्गा दान गरेको हिमा गाउँपालिकाले जनाएको छ।
आफ्नाे कार्यकाल भित्र सुविधायुक्त प्रशासनिक भवन बनाउने अध्यक्ष शाहीको भनाइ छ। उनले थपे, ‘निर्वाचनकाे बाचानुसार प्रशासनिक केन्द्र र भवन निर्माणले पूर्णता दिन थालिएकाे हो।’
संघीय सरकारकाे ६० प्रतिशत र स्थानीयतहकाे ४० प्रतिशत लगानीमा भवन निर्माण हुने हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताए।
उनका अनुसार कूल १० कराेड लगानीमा पालिकाकाे प्रशासनिक भवन निर्माण हुनेछ।
प्रकाश उपाध्याय । २०८१ असार २९