कांग्रेसमा एकताका लागि दबाब बढ्दो

नेपाली कांग्रेसभित्र विवाद चरमोत्कर्षमा पुगेपछि एकताका लागि दबाब बढ्दै गएको देखिन्छ । पार्टीलाई फुटबाट जोगाउन विभिन्न पक्षले दबाब दिइरहेका छन् ।

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गर्दै पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति बनाएको छ ।

भेलाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमहामन्त्री डा. कोइरालाले पार्टीलाई सबल बनाउन भेला गर्न लागिएको बताए । पार्टी एकताका लागि दबाब दिन भन्दै साउन २० गते पार्टीका युवा नेताहरूले र साउन २७ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले छुट्टाछुट्टै भेलाको घोषणा गरिसकेका छन् ।
पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टताका लागि राष्ट्रिय भेला :  डा. शशांक कोइराला
पार्टीभित्र बढ्दो ध्रुवीकरणलाई चिर्न भन्दै निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पुष्पराज शाहीसहितको समूहले साउन २० गते सुकेधारामा ‘एकता भेला’ गर्ने घोषणा गरेको छ । आइतबार बानेश्वरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभा सदस्य कर्णले त्यो भेलामा संस्थापन र इतर दुवै पक्षलाई एउटै मञ्चमा उभ्याउने बताए ।

कर्णले भने, ‘पार्टी फुटको डिलमा छ, हामी पदका लागि होइन, एकताका लागि लागेका हौँ ।’

पार्टी एकताका लागि भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि दबाब दिइरहेका छन् । भीमप्रसाद ढुंगाना, चिरिबाबु महर्जन, उपेन्द्र कार्कीसहितका कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ सञ्चालन गरिरहेका छन् । उनीहरूले नेतृत्वलाई चेतावनी दिँदै पार्टी विभाजनको बाटोमा गए आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा बताएका छन् । उनीहरूले साउन २७ गते राष्ट्रिय भेला बोलाएका छन् ।
कांग्रेसमा विधानको सर्वोच्चता कि ‘बाधा अड्काउ फुकाऊ’ भन्नेमा संस्थापन र इतर समूहबिच मतभेद
अर्कोतर्फ उपचारका लागि हङकङमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले विशेष महाधिवेशनसम्बन्धी सर्वोच्चको फैसला पुनरवलोकनको माग गर्दै रिट दायर गरेका छन् ।
पार्टीभित्रको चर्को विवाद र दबाबबिच कांग्रेसले साउन २४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको कांग्रेसमा क्रियाशील सदस्यता वितरण र विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद चरमोत्कर्षमा छ ।
दुवै पक्षले आफ्ना अडानलाई ‘इगो’ को विषय बनाउँदा र बेग्लाबेग्लै भेलाको राजनीतिले कांग्रेस अहिले एकता र विभाजनको दोसाँधमा उभिएको छ । साउन २४ को बैठकले यी दबाबहरूलाई कसरी सम्बोधन गर्छ भन्ने धेरैको चासो छ ।

प्रकाशित मितिः   २०८३ साउन १७ at 7:05 pm 

  • कमेन्ट (Comment)