
जुम्ला बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ। आईतवार विहान जुम्ला बहुमुखी क्याम्पसमा कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्म जुम्लाको सहजिकरणमा उक्त अभ्यास प्रस्तुत गरिएको हो।
शैक्षिक गतिविधिलाई मात्र नभई समुदायको समग्र चेतनालाई पनि उकास्ने प्रयास गरेको जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले बताए।
उनका अनुसार, विपदका क्षणमा प्रत्यक्ष अनुभवकै अभ्यास आवश्यक हुने भएकाले यस किसिमका गतिविधि आवश्यक छन्।
कार्यक्रममा प्रहरीले व्यवहारिक अभ्यासमार्फत विपद प्रतिकार्यका विभिन्न चरणमा प्रदर्शन गरेका थिए । कसरी घाइतेलाई प्राथमिक उपचार दिने, भीड व्यवस्थापन गर्ने, उद्धारका साधन प्रयोग गर्ने, र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने जस्ता गतिविधि प्रत्यक्ष अभ्यासमा उतारिएका थिए।
अभ्यासलाई जीवनमा काम लाग्ने पाठका रूपमा लिनुपर्नेमा स्ववियु अध्यक्ष लोकेन्द्र बुढाले जोड दिए।“पाठ्यपुस्तकले मात्र सिकाउँदैन, यस्तो अभ्यासले जीवनलाई वास्तविक ज्ञान दिन्छ। विपद आयो भने हामीलाई भाग्ने होइन, सहयोग गर्नुपर्ने हो भन्ने चेत यसले दिएको छ,” उनले बताए।
कार्यक्रममा प्रहरी टोलीको सक्रियताले विद्यार्थीलाई थप व्यवहारिक अनुभव दिलाएको उनको भनाइ छ।विपद प्रतिकार्य अभ्यासले समुदायलाई तयारीका दिशामा अघि बढाएको स्ववियु सचिव दत्त रावतले बताए।











कनका खबर । २०८२ भाद्र १५