रास्वपाले आफ्नै दलको सरकारका थुप्रै क्रियाकलाप खेदजनक रहेको टिप्पणी गर्ने गरेको छ । सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्यले मौखित तथा लिखित वक्तव्य नै दिने गरेका छन् ।
तर आपत्तिजनक अडियो प्रकरणमा चरम विवादित सांसद खगेन्द्र सुनारलाई माओवादीकालीन जनअदालत सम्झाउने गरी आफ्नै दलको छानबिन समितिमा सीमित गर्ने, अनि आफैं सफाइको फैसला गर्ने तयारी रास्वपाले सुरु गरेको छ ।
योसँगै सुशासन र सामाजिक मर्यादाप्रति रास्वपाको निष्ठासमेत प्रश्नको घेरामा पर्ने सन्देह सुरु भएको छ ।
पार्टीबाट गठित छानबिन समितिले सुनारलाई सफाइ दिने संकेत गरेको हो ।
सांसद सुनारले एक महिलासँग अश्लिल शब्दहरू प्रयोग गर्दै हिंसात्मक खालको अभिव्यक्ति दिएको अडियो सार्वजनिक भएको थियो ।
उक्त अडियो सार्वजनिक भएसँगै रास्वपाले पार्टीकै अनुशासन आयोगलाई उनी माथि यस विषयको सत्यतथ्य अन्वेषण गर्न निर्देशन दिएको थियो ।
पार्टीको निर्देशन अनुसार अनुशासन आयोगले त्यस उपर छानबिन गर्न आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिका अन्य सदस्यहरूमा उपेन्द्रनन्दन यादव, सुशीला सिम्खडा, सन्तोष आचार्य, रामचन्द्र कार्की र सन्तोष विशुंखे छन् ।











कनका खबर । २०८३ कार्तिक १७