जिप दुर्घटना हुँदा नेपाली सेनाका अमल्दारको मृत्यु

मुगुः नाग्मा–गमगढी सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–७ स्थित आलाधुने खोलाको मोडमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एकजना अमल्दारको मृत्यु भएको छ।
आइतबार रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री हनुमानध्वज गुल्मको सल्लेरी पोस्टबाट कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेस्थित पोस्टका लागि बन्दोबस्ती सामग्री पुर्‍याएर फर्कने क्रममा उक्त दुर्घटना भएको हो। नेपाली सेनाको ना १ झ १०३९ नम्बरको बोलेरो जिप अन्दाजी राति १० बजेर २० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
दुर्घटनामा बैतडी जिल्ला पाटन नगरपालिका–४ बगाडी घर भई हाल हनुमानध्वज गुल्म रारामा कार्यरत अमल्दार हरि सिंह ऐरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएको भए पनि उपचारका क्रममा राति २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ पिना प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक धनबहादुर कार्कीको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप उद्धारका लागि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट सेनानी ऋषिराम न्यौपानेको कमाण्डमा ११ जना तथा सशस्त्र प्रहरी बल नं. ४५ गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दोलख शाहीको कमाण्डमा १० जनासहित जम्मा २७ जनाको उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार टोलीले चालक अमल्दार ऐरीलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको भए पनि उनको ज्यान बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए। मृतक अमल्दार ऐरीको जिल्ला अस्पताल मुगुमा पोस्टमार्टम सम्पन्न गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत अन्त्येष्टिका लागि उनको जन्मघर बैतडी जिल्ला पाटन नगरपालिका–४ बगाडी पठाइ सकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः   २०८२ पुष २१ at 3:52 pm 

  • कमेन्ट (Comment)