सहज बन्दै गिडीदह: पर्यटकका लागि धर्मशाला र शाैचालय निर्माण

कर्णाली प्रदेशको नयाँ र आकर्षक पर्यटकीय गन्तव्य गिडीदह सहज बन्दै गएको छ। तातोपानी गाउँपालिकाको निरन्तरको प्रवर्द्धनात्मक क्रियाकलापले गिडीदह पर्यटकको रोजाइ बन्दै गएको छ।

भर्खरै गिडीदह छेउमा हाल धर्मशाला र शौचालय निर्माण गरिएको छ। यसअघि गएका पर्यटकहरु टेण्ड हालेर बस्नु पर्ने अवस्था थियो भने खुला दिसापिसाब गर्नुपर्ने बाध्यता थियोे।

तातोपानी ४ स्थित गिडीदह यात्रा सहज बनाउनका लागि पूर्वाधार निर्माणदेखि प्रचार प्रचारप्रसारका गतिविधि गरिँदै आएको तातोपानी -४ का वडा अध्यक्ष अमर बहादुर रोकायाले बताए।

‘हामीले सुरुमा प्रचारप्रसारका लागि ०७९ असोज ५,६ र ७ गते गिडीदह सम्मेलन गरेका थियौं। गिडीदह सम्मेलन गरेका थियौं। त्यतिबेला त्यहाँ पुग्न निकै कठिन छ,’ उनले भने, ‘अब निकै सहज भएको थियोे। अहिले पदमार्ग निर्माण भएको छ भने सडक निर्माण तथा धर्मशाला निर्माण लगायतका पूर्वाधार निर्माण भइसकेका छन्।’

पूर्वाधार अभाव प्रचार प्रशारको अभावमा ओझेलमा परेको गिडिदहमा पछिल्लो समय आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ। यूवाहरु, कर्मचारीहरु लगायत अन्य स्थानीयहरु समुह बनाएर गिडिदह अवलोकन गर्न जान थालेकाले राम्रो प्रसारप्रसार भइरहेको उनले बताए।

यस्तो अवस्थामा गिडीदहमा आन्तरिक पर्यटकको आर्कषण बढेपछि पालिकाको लगानीमा विभिन्न पूर्वाधार निर्माणमा ध्यान दिइएको उनको भनाई छ। उनले थपे, ‘केहि समयअघि गिडीदहसम्म पुग्ने बाटो नै थिएन। अब सहज छ।’

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशकोको १० लाख र जनश्रमदान २ लाख गरी १२ लाख लगानीमा गिडिदह छेउमा धर्मशाला निर्माण भएको वडा अध्यक्ष रोकायाले बताए।

गिडीदह अवलोकनसँगै निर्माण भएका पूर्वाधारको निरिक्षणको लागि वडा कार्यालयको अगुवाईमा गएको सरकारी टोली गिडीदह पुगेर फर्किएको छ।

पहिलो पटक गिडिदह पुगेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले गिडीदह पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र निकै रमणीय क्षेत्र रहेको बताए।

‘गिडीदह तातोपानी मात्र नभई जुम्लाकै समृद्धीको आधार हो,’ उनले भने, ‘यसको प्रचार प्रशार देखि पर्यटकको सहज आवागमन र बसाई व्यवस्थापनका लागि पूर्वाधार निर्माण सबैको पहल जरुरी देखिन्छ।’

जिल्लाको समृद्धीको लागि गिडीदहको प्रवर्द्धनमा एकजुट भएर लगानी जुटाउन र पूर्वाधार निर्माणमा हातेमालो गर्न जरुरी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए।

उनले भने, ‘गिडीदहका कारण तातोपानीमा पर्यटकको संख्या अझ बढ्नेछ। हामी गिडीदहमा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने तयारीमा जुटेका छौं।’

तातोपानीको स्वाथ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाँई दोस्रो पटक गिडिदह पुगेका छन्। उनका अनुसार पहिलो पटक जाँदा हिँड्ने बाटोेदेखि बस्ने स्थानको सास्ती खेप्नु परेको थियोे। दोस्रो पटक जाँदा हिँड्ने बाटोदेखि बस्ने बास र शौचालय धाराको व्यवस्थापनले बसाई र घुमाई सहज भएको छ।

काठमाडौं विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदनअनुसार गिडीदहको कुल लम्बाइ एक हजार पाँच सय १० मिटर रहेको छ। चौडाइ तीन सय १० मिटर, गहिराइ ४३.३ मिटर रहेको छ भने गहिराई ४२.८ मिटर रहेको छ। समुद्री सतहदेखि ३४८५ मिटर उचाइमा फैलिएको गिडीदह कर्णालीको दोस्रो अग्लो उचाइमा रहेको ताल हो।

समग्र गिडीदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर, ७४ प्रजातिका चराचुरुंगी रहेका छन्। गीडीदह वरपरको जंगलमा तालिसपत्र, (एबीस स्पेक्टेबिलिस), भोजपत्र (बेटुला युटिलिस), धुपिसल्ला (कप्रेसस टोरुलोसा) र चिमाल (रोडोडेन्ड्रन बार्बाटम) छन्। दक्षिणतर्फको घना खर्सुको (क्वेर्कस सेमेकार्पिफोलिया) जंगल छ भने उत्तरतर्फ भोजपत्र (बेटुला युटिलिस) जंगल छ।

यस क्षेत्रमा अधिकतम तापक्रम १४ देखि ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम (-) १४ देखि ८ डिग्री सेल्सियस हुन्छ। तालको पानीको मुख्य स्रोत तीनवटा ठूला इन्फेटहरू (पूर्व र उत्तर) र तीनदेखि साना चारवटा मुहानहरू छन्। एउटा आउटलेट छ। जसलाई गिडी खोला भनिन्छ।

प्रकाशित मितिः   २०८१ असार ३ at 11:28 am 

  • कमेन्ट (Comment)