संसदीय समितिमा रवि : अख्तियार प्रमुख प्रधानमन्त्री कार्यालयमा थुनिए भन्ने कुरा आउनु गम्भीर

रास्वपाका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की र प्रधानमन्त्री कार्यालयमै थुनियो भन्ने कुरा आउनु गम्भीर विषय भएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उनले अख्तियारका अधिकारीहरू कुन मानसिकतामा काम गरिरहेका छन् भन्नेमा प्रसंगमा यो कुरा उठाएका हुन् ।

‘म यहाँ एउटा गम्भीर विषय उठाउन चाहन्छु। यो व्यक्ति प्रेम राईको कुरा होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुरा हो। एउटा बहालवाला प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आउनु, र त्यसमा पैसाको लेनदेनसमेत प्रमाणित हुनु अत्यन्त गम्भीर विषय हो’ सभापति लामिछानेले भने । यस्तो मानसिक टर्चर र ‘गन पोइन्ट’ मा बसेर काम गर्नुपर्दा भोलिका दिनमा कसरी निष्पक्ष निर्णय हुन सक्छ ? भन्ने उनले प्रश्न गरेका छन् ।

‘ प्रधानमन्त्री कार्यालयमा थुनेर राखियो भन्ने कुरा पनि आएको छ। यस्तो ज्यानकै जोखिम हुने वातावरणको अन्त्य हामीले कसरी गर्ने ?’ संसदीय समितिमा रविको प्रश्न छ ।

समितिको यो छलफलफमा अख्तियार प्रमुख राईले पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा छलफल भएको विषयबारे जानकारी गराएका थिए । पासपोर्ट ठेक्काको मुद्दा अघि बढाउनु अघि उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा ७ घण्टा राखेर दबाब सिर्जना गरिएको कुरा बाहिर आएको थियो ।

प्रकाशित मितिः   २०८३ भाद्र ४ at 5:38 pm 

  • कमेन्ट (Comment)