नेकपा (एकीकृत समाजवादी) जुम्ला जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो ७६ औं स्थापना दिवसको अवसरमा जुम्ला जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न गरेको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य पदम रोकाय, प्रदेशस्तरीय नेताहरू, जिल्ला कमिटी सदस्यहरू तथा विभिन्न वडाबाट आएका पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको सचिव शंकर रोकायाले जानकारी दिए।

जिल्ला अध्यक्ष राजबहादुर खत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै स्थापना दिवसको अवसरमा पहिलोपटक जिल्ला कमिटीको बैठक आयोजना गर्नु सुखद संयोग भएको बताए। उनले पार्टीको भविष्यलाई सबल र सशक्त बनाउँदै स्थानीय तहसम्म संगठन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वडास्तरसम्म पार्टी विस्तारका कार्यक्रम अघि बढाइने जानकारी पनि दिए।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य पदम रोकायले कार्यकर्ताहरूको सक्रियता र समर्पणले पार्टीलाई थप मजबुत बनाउने बताए। उनले वर्तमान परिस्थितिमा कम्युनिस्ट विचारधारालाई संस्थागत गर्न सबै तहमा संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।

स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६० जना बिरामीलाई फलफूल वितरण गरिएको थियो। कार्यक्रममा सहभागी सबैले पार्टीको ऐतिहासिक योगदानलाई स्मरण गर्दै भविष्यमा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।

पार्टीले अब आगामी दिनमा नियमित रूपमा जिल्ला र वडा तहमा संगठनात्मक गतिविधि सञ्चालन गर्ने र स्थानीय समस्यामा जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मितिः   २०८२ बैशाख १० at 7:42 pm 

  • कमेन्ट (Comment)