जुम्ला । जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका अब साँझ परे पछि पनि उज्यालो देखिन थालेको छ । नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने लक्ष्य सहित चन्दननाथ नगरपालिकाले पहिलो चरणमा खलंगा बजार क्षेत्रमा दुई सय सडक बत्ती जडान कार्य सम्पन्न गरेको छ ।
नगरपालिकाका १० वटै वडा समेट्ने दीर्घकालीन योजना अन्तर्गत पहिलो चरणमा मुख्य बजार क्षेत्र, चोक, गल्ली तथा आवतजावत बढी हुने स्थानहरूमा सडक बत्ती जडान गरिएको हो । चन्दननाथ नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतका अनुसार प्राविधिक स्टमेट अनुसार चार हजार मिटर केबुल तार विस्तार गरी ५० वाट क्षमताका दुई सय वटा सडक बत्ती जडान गरिएको बताए ।
उनले भने, यस अघि विद्युत प्राधिकरणले केही स्थानमा पूर्वाधार तयार पारे पनि नागरिकको माग अनुसार पर्याप्त थिएन । नगरपालिकाले आफ्नै लगानीमा नेटवर्क विस्तार गर्दै बजार क्षेत्रलाई पूर्ण रूपमा उज्यालो बनाएको इन्जिनियर महतकाे भनाइ छ ।
बत्ती जडान पछि खलंगा बजार साँझपख झिलीमिली देखिन थालेको छ । सडक बत्ती, जडान खर्च, प्राविधिक सेवा तथा तार विस्तार समेत गरी कुल १७ लाख ५० हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले पहिलो चरणमा बजार क्षेत्रमा सडक बत्तीको दिगोपन, प्रभावकारिता र संरक्षणको परीक्षण गरिने बताए । बजार क्षेत्रमा सफल भए पछि नगरका सबै वडामा विस्तार गर्ने हाम्रो योजना रहेकाे मेयर कठायतले जानकारी दिए ।
हाल नगरपालिकाका सबै वडामा ग्रामीण सडक पुगिसकेको र राष्ट्रिय प्रशारण लाइन तथा चुकेनी विद्युत् विस्तार भइसकेको अवस्थामा पनि सडक बत्तीको अभावले रात्री समयमा आवतजावत असहज हुँदै आएको थियो । यही समस्या समाधानका लागि नगरपालिकाले प्राथमिकताका साथ सडक बत्ती जडान गरेको मेयर कठायतकाे भनाइ छ ।
यस्तै चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले आगामी आर्थिक वर्षमा सडक पुगेका सबै बस्तीमा चरणबद्ध रूपमा सडक बत्ती जडान गर्ने गरी बजेट तर्जुमा गरिने जानकारी दिइन् । उनले सरकारी लगानी बाट बनेका संरचना दिगो बनाउन स्थानीयको अपनत्व र संरक्षण आवश्यक रहेकोमा जोड दिइन् ।
हिउँद सुरु भए सँगै चोरीका घटना बढ्ने, ट्युसन पढ्न जाने विद्यार्थीलाई समस्या हुने अवस्था बीच साँझ ६ बजे देखि बिहान ६ बजे सम्म बल्ने सडक बत्तीले स्थानीयमा सुरक्षा र सहजताको अनुभूति गराएको छ। उज्यालो बजार सँगै चन्दननाथमा अब रात्री जीवन पनि सुरक्षित र व्यवस्थित बन्दै गएको स्थानीयको भनाइ छ ।
जुम्लाको खलंगा बजारमा दुई सय सडक बत्ती जडान, रातीमा सुरक्षित र सहज











कनका खबर । २०८२ पुष १६