जुम्लामा पहिलोपटक आयोजित प्रथम अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन जुम्ला घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
अमेरिकाको हार्वर्ड युनिभर्सिटीसँगको सहकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आयोजना गरेको अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन ‘जुम्ला घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो।
सम्मेलनको शनिवार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सांसद विनिता कठायतले उद्घाटन गरेकी थिइन्। औपचारिक उद्घाटनसँगै सम्मेलन दुई दिनसम्म चलेको थियोे।
नेपालमै पहिलोपटक जुम्लामा बैशाख २२ गते ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रर्वतन तथा सहकार्य’ नारासहित सम्मेलन सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
उनले भने, ‘दुईदिनसम्म सञ्चालन भएको सम्मेलनमा मानसिक रोगसम्बन्धि ५० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। यो कार्यक्रम हाम्रालागि निकै उपलब्धिपूर्ण छ।’
उनका अनुसार जुम्लामा आयोजित सम्मेलन नेपालमै पहिलो पटक भएको हो। सम्मेलनले कर्णालीकाे मानसिक स्वास्थ्य सम्बन्धि देखिएको समस्या समाधानमा भूमिका खेल्नेछ।
सम्मेलनले जुम्ला घोषणापत्र जारी गर्दै मानसिक स्वास्थ्य समस्याको ठूलो खाडल र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभावलाई पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्यको खाँचोका साथ सम्मेलन सम्पन्न भएको प्रतिष्ठानका रेक्टर डा. डबल धामीले बताए।
घोषणापत्रमा नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूले समुदायमा विद्यमान सेवाहरूलाई सुदृढ गर्न र नेपालमा सबैको लागि मानसिक स्वास्थ्यको एजेन्डामा योगदान पुर्याउन सहकार्य गर्ने उल्लेख गरिएको छ।
सम्मेलनका साझेदार संस्थाहरूले कर्णाली प्रदेशका सबैका लागि मानसिक स्वास्थ्य प्राप्त गर्नका लागि केएचएसको मनोचिकित्सा विभाग, प्रादेशिक अस्पताल र प्रादेशिक/स्थानीय सरकारहरूलाई काम गर्ने अवसरहरू खोज्ने जनाइएको छ।
सम्मेलन समापनको क्रममा बोल्दै अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीका सहायक प्रध्यापक डाक्टर श्रीधर पौडेलले कर्णाली क्षेत्रको मानसिक स्वास्थ्यमा रहेको समस्या समाधानको लागि काम गरिने बताए।
‘पहिलो पटक सञ्चालन भएको सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ,’ उनले भने, ‘आगामी वर्ष पनि सम्मेलन सञ्चालन गरिनेछ। आगामी वर्षमा प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिनेछ।’
सम्मेलनमा दुई सय बढीको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।
सम्बन्धित समाचार
हार्वड युनिभर्सिटीसँगको सहकार्यले जुम्लामा मानसिक स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु
कनका खबर । २०८१ बैशाख २४