हार्वड युनिभर्सिटीसँगको सहकार्यले जुम्लामा मानसिक स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

जुम्लामा हार्वड युनिभर्सिटीसँगको सहकार्यमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सम्मेलनको आयोजना गरिएको हो।

विश्वभर प्रतिष्ठित अमेरिकी विश्वविद्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन’ आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले बताए। उनका अनुसार सम्मेलन वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने छ।

‘दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने अपेक्षा गरेको छु,’ डा रावलले भने।

सम्मेलनको उद्घाटन प्रतिनिधिसभा सदस्य विनिता कठायतले गरिन्। विश्वभर सबैभन्दा ठुलो समस्याका रुपमा मानसिक स्वास्थ्य बन्दै गएको हुँदा मानसिक स्वास्थ्य सेवा प्राथमिकतामा पर्नुपर्ने उनले बताइन्।

‘निकै साना कारणले पनि हाम्रो दिमागमा असर परिरहेको हुन्छ। त्यसमा समाधान तत्काल हुन सकेन भने पछि त्यो मानसिक समस्या बनिदिन्छ,’ उनले भनिन्, ‘सामुदायिक स्तरमा यस्ता समस्याका चाङ छन्। आज सुरु भएको सम्मेलनले यो विषयमा गम्भीर छलफल गरि समस्या समाधानका उपाय निकाल्नेछ।’

सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी भएको हार्वर्ड युनिभर्सिटीको फ्याकल्टी डा श्रीधर पौडेलले जानकारी दिए। उनका अनुसार कर्णालीमा सामान्यतः एकजना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउँका नागरिक सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुंच पुर्‍याउने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश स्वास्थ्य महाशाखाको प्रतिनिधित्व पनि रहेको छ। स्थानीय सरकारका प्रतिनिधिहरु र सरकारी तथा गैरसरकारी निकायाहरुको सहभागिता रहेको छ सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन्।

हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी समेत हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार निर्पेन्द्र महतले बताए। ‘विकट क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन सुरु भएको छ,’ उनले भने, ‘सम्मेलनले जुम्ला घोषणापत्र जारी गरेर मानसिक स्वास्थ्य समस्या निवारण गर्न विश्वमाझ अपिल गर्ने तयारी समेत भइरहेको छ।’

प्रकाशित मितिः   २०८१ बैशाख २३ at 4:42 am 

  • कमेन्ट (Comment)