कनकासुन्दरी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड 

“कनकासुन्दरी गाउँपालिकाको समुन्नति आधार शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार” भन्ने मूल नाराका साथ गाउँपालिकाले १५ औं गाउँसभा सम्पन्न गरेको छ। यस गाउँसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ। गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर विकासको खाका कोरेका हुन् ।

अध्यक्ष आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने, सेवाको पहुँच बढाउने र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ। यस वर्षका लागि गाउँपालिकाले करिब ५० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने रकमः

वित्तीय समानीकरण अनुदान — रु. १० करोड १ लाख

सशर्त पूँजीगत अनुदान — रु. २ करोड ७० लाख

सशर्त चालु अनुदान — रु. १६ करोड ३० लाख

विशेष अनुदान — रु. १ करोड ७८ लाख

राजस्व बाँडफाँड — रु. ९ करोड १९ लाख ८४ हजार १ सय ३१

प्रदेश सरकारबाट प्राप्त हुने रकमः

वित्तीय समानीकरण अनुदान — रु. १ करोड २५ लाख ४९ हजार

सशर्त अनुदान — रु. २ करोड ३२ लाख ६९ हजार

राजस्व बाँडफाँड — रु. ७ लाख

आन्तरिक आम्दानी र अन्य स्रोतहरूः

आन्तरिक राजस्व संकलन — रु. ३२ लाख

आन्तरिक स्रोतबाट — रु. ४ करोड ६५ लाख

गैरसरकारी संस्थाबाट:

INF जुम्ला — रु. १७ लाख ८६ हजार ८ सय ६५

क्याड नेपाल, जुम्ला — रु. ९२ लाख ८५ हजार

 यो बजेट संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत र गैरसरकारी संस्थाहरूको सहकार्यबाट प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटको प्रमुख हिस्सा संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेको छ। सशर्त अनुदान, विशेष अनुदान तथा राजस्व बाँडफाँडका विभिन्न शीर्षकहरूबाट गाउँपालिकामा  बजेट प्राप्त हुनेछ । त्यस्तै, प्रदेश सरकारबाट पनि समानीकरण अनुदान तथा सशर्त अनुदानमार्फत सहयोग प्राप्त हुने उल्लेख गरिएको छ ।

आन्तरिक आम्दानीका रूपमा स्थानीय तहले कर तथा राजस्व संकलनबाट पनि उल्लेख्य रकम जम्मा गर्ने अपेक्षा गरिएको छ। साथै INF जुम्ला र क्याड नेपाल जस्ता गैरसरकारी संस्थाहरूको सहभागिताले शिक्षा, स्वास्थ्य र समुदाय–आधारित कार्यक्रमहरूमा थप योगदान पुर्‍याउने देखिन्छ ।

यसबर्षको नीति तथा कार्यक्रमको विशेषता भनेको यसले समेटेका बहुआयामिक नीतिगत दृष्टिकोण हो । आर्थिक विकासदेखि सामाजिक सुरक्षा, पूर्वाधार विकासदेखि वातावरण संरक्षणसम्मका विषयहरूमा गाउँपालिकाले स्पष्ट कार्यदिशा प्रस्तुत गरेको छ। नीति कार्यक्रमले रोजगारी सिर्जना, लघु उद्योग प्रवर्द्धन, कृषि उत्पादन वृद्धि, पशुपालन, शिक्षा र प्राविधिक तालिमजस्ता क्षेत्रहरूमा कार्ययोजना अघि सारेको छ ।

शिक्षा क्षेत्रमा गुणस्तरमा सुधार ल्याउने, शिक्षक अभाव हटाउने, विद्यालय भवन निर्माण तथा स्तरोन्नतिको योजना अघि बढाइएको छ। स्वास्थ्य क्षेत्रमा स्थानीय स्वास्थ्य संस्था सुदृढ बनाउने, आयुर्वेद सेवा विस्तार गर्ने र जनस्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। कृषिमा सिँचाइ, बीउबिजन, आधुनिक प्रविधिको प्रयोग र बजारीकरणलाई प्राथमिकता दिइनेछ। पशुपालनमा खोप कार्यक्रम, गोठ सुधार र उत्पादनशील जातको प्रवर्द्धन गरिनेछ ।

पूर्वाधारको सन्दर्भमा गाउँभित्रका सडकहरू स्तरोन्नति गर्ने, नयाँ पुल निर्माण गर्ने, खानेपानी तथा सरसफाइ योजना विस्तार गर्ने र बिजुली तथा सौर्य ऊर्जा पहुँच पु-याउने लक्ष्य लिएको छ। पर्यटन प्रवर्द्धनका लागि संस्कृति संरक्षण, पर्यटकीय सम्भावना भएका क्षेत्रहरूको विकास तथा स्थानीय कला–संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरू समेत समावेश गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले नीति तथा कार्यक्रमको समर्थन गर्दै सबै योजना जनताको आवश्यकतालाई सम्बोधन गर्न केन्द्रित रहेको बताइन्। उनले कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै तहका प्रतिनिधिहरू, कर्मचारी र स्थानीय बासिन्दाहरूबीच सहकार्य आवश्यक हुने धारणा राखिन् ।

गाउँसभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुख, कर्मचारी, पत्रकार तथा नागरिकको उल्लेखनीय उपस्थिति थियो। छलफलका क्रममा केही सहभागीले बजेट वितरणमा सन्तुलन कायम गर्नुपर्ने, स्थानीय स्रोतको अधिकतम उपयोग गर्नुपर्ने तथा अनुगमन र मूल्यांकन प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझावसमेत दिएका थिए ।

सामाजिक समावेशीकरण, सूचना प्रविधिको प्रवर्द्धन, महिला तथा बालबालिकाको हकअधिकार संरक्षण, पोषण सुरक्षालगायतका विषयहरूलाई पनि प्राथमिकतामा राखिएको छ । सुशासन, पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिमा विशेष ध्यान केन्द्रित गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाले आगामी वर्षको बजेट र नीतिमार्फत समग्र क्षेत्रको समुचित विकास गर्दै आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणको दिशामा आफू क्रियाशील रहेको संकेत दिएको छ ।

 गाउँसभाको समापनसँगै नीति तथा कार्यक्रम कार्यान्वयनको चरण सुरु भइसकेको छ । अबको चुनौती भनेको नीति कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्ने हो। यसका लागि स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र आम नागरिकको सक्रिय सहभागिता अपरिहार्य देखिन्छ ।

पछिल्लो केही वर्षयता कनकासुन्दरी गाउँपालिका जुम्लाको एक उदाउँदो स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ । भौगोलिक कठिनाइका बाबजुद विकास र समृद्धिको बाटोमा हिड्न थालेको यस पालिकाको यात्रा यस गाउँसभासँगै अझ स्पष्ट, व्यापक र दूरदर्शी बनेको देखिन्छ। अब यी योजनाहरू व्यवहारमा कसरी रूपान्तरण हुन्छन् भन्ने कुराले कनकासुन्दरीको भविष्यलाई आकार दिनेछ ।

प्रकाशित मितिः   २०८२ असार ९ at 2:34 pm 

  • कमेन्ट (Comment)