असार ११ गते दुर्गा मावि लाम्राका शिक्षक जयशंकर धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदीप्रसाद न्यौपान बीच विद्यालय प्राङ्गणमा हात हालाहालको स्थिति बन्यो। सोही घटनामा अर्का शिक्षक टेक रोकाया पनि मुछिए। उनी र शिक्षक धिताल बीच पनि हात हालाहालको स्थिति बन्यो।
उक्क घटना पछि सामाजिक संजालमा पक्षविपक्ष बीच तिब्र आलोचना र आरोप प्रत्यारोपण चलिरहेको छ। यसैबीच तातोपानी गाउँपालिकाले उक्त घटनाका विषयमा छानविन समिति गठन गरेको । तातोपानी -६ का वडाध्यक्ष विशाल खड्काको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको हो।
समितिको सदस्यमा वडाध्यक्ष अमरबहादुर रोकाया, वडाध्यक्ष गोकर्ण रावल, शिक्षा शाखा प्रमुख सुरतबहादुर शाही र महिला शाखा प्रमुख शान्ति भक्री रहेका छन्। गठित समितिले ७ दिन भित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन गाउँ कार्यपालिकालाई बुझाउने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।
‘प्राप्त प्रतिवेदनको अध्ययन पश्चात दोषीलाई आवश्यक कारवाही गरिनेछ,’ उनले भने, ‘कार्यपालिकाको निर्णयबाट समिति बनेको हो। छानविन समितिले सिफारिस गरेपछि दोषी ठहरिएका जोसुकै पक्षलाई थलोमै कारवाही गरिनेछ।’
‘आगामी दिनमा यस प्रकारको घटना घट्न नदिई विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दछौँ। आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न अपिल गर्दछौँ,’ अध्यक्ष चौलागाईंले भने।
‘विद्यालय शिक्षाको मन्दिर हो, जहाँ सुरक्षित, भयरहित र हिंसारहित तवरले शिक्षण क्रियाकलाप सञ्चालन हुने शान्ति क्षेत्र पनि हो। विद्यार्थीहरु भविष्यका कर्णाधार हुन र उनीहरुको भविष्य निर्माणमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ। विद्यालय व्यवस्थापन समितिको कुशल व्यवस्थापकिय पक्ष र शिक्षकहरुको असल शिक्षण क्रियाकलापले मात्र विद्यालय उत्कृष्ट हुने हो,’ गाउँपालिकाको ध्यानाकर्षण पत्रमा भनिएको छ।
‘जिम्मेवार व्यक्तिबाट नै यस प्रकारका घृणित र लज्जास्पत कार्यबाट सिंगो गाउँपालिकाको बदनाम हुनुका साथै निजहरुबाट शैक्षिक क्षेत्रको सुधारको अपेक्षामा तुषारापात भएको छ। विद्यालय जस्तो शान्ति क्षेत्रमा यस प्रकारको अमानविय कार्यको जति नै भत्सर्ना गरेपनि कम हुन्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
पक्ष–विपक्ष आरोप पत्यारोप
शिक्षक जयशंकर धितालले आदीप्रसाद न्यौपानेको टिमले आफूमाथि सांघातिक हमाल गरेका भन्दै सामाजिक संजालमा स्टाटस राखेका थिए। उनले सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै विद्यार्थीलाई भौतिक संरचना निर्माण गर्न बालबालिका प्रयोग गरिएको दृश्य देखाएका छन् भने उक्त भिडियोमा यो काम विव्यस अध्यक्ष न्यौपानेले लगनएको भनेका छन्।
उनका अनुसार विद्यालयमा आफू अनुकुलको राजनीतिक पार्टीको विद्यार्थी संगठन गठन गरिएको भनेका छन्। माओवादी सम्वद्ध संघ संगठनले घटनाको छानविन गर्न मागसहित प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्।
यसैबीच शिकक महासंघ जिल्ला समिति, नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला र प्रदेश समिति र नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति निकाल्दै विरोध जनाएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला सचिव उत्तम देवकोटाले विद्यालय हाताभित्र यस्तो खालको अराजकता निम्तिने घटना घट्नु दुखद भएको बताए।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका न्यौपानेले शिक्षक धितालले विद्यालयमा पठनपाठन गर्न नआउने, आएपनि समयमा उपस्थित नहुने र पोशाकसहित अनुशासन पालन नगर्ने गरेको आरोप लगाएका छन्। उनले भने, ‘विद्यालयमा शिक्षक धितालले बालबालिकालाई कुटपिट गर्ने गरेको पनि भिडियो सामाजिक संजालमा सार्वजनिक गरिएको छ।’
कनका खबर । २०८१ असार १३