कर्णालीकाे आर्थिक समृद्दी किसानकाे जीविकाेपार्जनकाे मुख्य स्राेत मानिएकाे स्याउ खेतीकाे विस्तार तथा उत्पादन बृद्दिका लागि कर्णाली कृषि अधिकृत तथा कृषि प्राविधिकलाई तीन दिने स्याउ बगैँचा व्यवस्थापन विषयक तालिम संचालन गरिएकाे छ ।
परम्परागत कृषि प्रणालीलाई व्यावसायिक स्वरूप दिन कर्णाली प्रदेशका किसानहरू अहिले नयाँ ज्ञान र सीप सिक्न उद्यत भएका छन्। यसै सन्दर्भमा, स्याउ बगैँचा व्यवस्थापनको तीन दिने तालिमले यहाँको स्याउ खेतीलाई नयाँ उचाइ दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
कर्णालीका विभिन्न आठ जिल्लाका ३३ जना कृषि अधिकृत र प्राविधिकहरूको सहभागितामा भएको उक्त तालिमले स्याउ उत्पादन वृद्धिदेखि रोग कीरा व्यवस्थापनसम्मका विषयमा व्यापक जानकारी प्रदान गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन स्याउ जुम्लाका प्रमुख खेमराज शाहीले बताए। तालिमको आयोजनाबाट स्याउ खेतीलाई आधुनिक प्रविधिको सहारा दिन र किसानहरूलाई व्यावसायिक बनाउने उद्देश्य राखिएको छ।
साविकको कर्णालीका पाँच जिल्लाहरू र अन्य केही जिल्लाहरूका सहभागीहरूले यस तालिममा नयाँ–नयाँ कुराहरू सिक्ने मौका पाएका छन्। जुम्लास्थित कृषि अनुसन्धान केन्द्रका प्रमुख डा. नवराज आर्चायका अनुसार कर्णालीलाई अर्गानिक स्याउ उत्पादनको प्रमुख क्षेत्र बनाउन गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ। यसले मात्र यहाँको स्याउलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ। तालिममा सिकाइएका कुरा व्यवहारमा लागू गरे स्याउ खेतीले नयाँ गति लिने आशा उनले व्यक्त गरे।
जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, अछाम, दार्चुला र सुर्खेत जिल्लाका प्रतिनिधिहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतारेर गाउँगाउँमा स्याउ खेतीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कृषि विकास कार्यालय डोल्पाका कृषि अधिकृत महेन्द्र मल्लका अनुसार, स्याउ खेतीको विस्तार भए पनि ज्ञान र सीपको अभावले उत्पादनमा कमी आइरहेको छ। “व्यवसायिक खेती गर्दा धेरै कुरा सिक्न जरुरी हुन्छ। मल व्यवस्थापन, सिंचाइ, बिरुवा काटछाँट, र रोग कीरा नियन्त्रणका विधिहरूमा तालिमले धेरै ज्ञान दिएको छ। हामी अब यी कुरा किसानसम्म पुर्याउन काम गर्नेछौं,” उनले भने।
कर्णाली प्रदेशमा स्याउ खेतीको उर्वर सम्भावना रहेको तर बगैँचा व्यवस्थापन र रोग कीरा नियन्त्रणका विधिहरूमा अझै काम गर्नुपर्ने कुरा परियोजना कार्यान्वयन एकाइ, खुमलटारका वरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाले बताए। उनले कर्णालीको स्याउलाई राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्न उत्पादनको गुणस्तर र ग्रेडिङलाई अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए। खेतीको विस्तारसँगै बजारीकरणमा समेत ध्यान दिँदै सरकारको नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
तालिमका सहभागीहरूले स्थानीय किसानलाई पनि यस तालिमको ज्ञान बाँड्ने र व्यावसायिक स्याउ खेतीको अवधारणालाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। सिंजा गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मनिषा बुढाले परम्परागत स्याउ खेतीले अपेक्षित प्रतिफल नदिएपछि किसानलाई आधुनिक खेतीबारे ज्ञान आवश्यक परेको बताइन्। “तालिमले बगैँचा व्यवस्थापनको उपयुक्त समय र विधिबारे सटीक जानकारी दिएको छ। अब स्याउ खेतीको प्रभावकारिता बढाउन यो तालिम ठूलो सहयोगी बन्नेछ,” उनले भनिन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले तालिमलाई औपचारिकतामा मात्र सीमित नगरी व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिए। “किसानहरू सरकारी सीप, ज्ञान र अवसरबाट वञ्चित भइरहेका छन्। अब स्याउ खेतीलाई प्राथमिकता दिँदै किसानहरूको जीवनस्तर उकास्न काम गर्नुपर्छ,” उनले भने।
परियोजना व्यवस्थापन एकाइका प्रमुख खेमराज शाहीका अनुसार, जुम्लामा ५,२०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ र यस वर्ष मात्र स्याउ निर्यातबाट ६१ करोड रुपैयाँ आम्दानी भएको छ। उनले तालिमले स्याउको उत्पादन वृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कनका खबर । २०८१ माघ १०