नेपाली कांग्रेस जुम्ला जिल्ला समितिको आयोजनामा विशेष अन्तरक्रिया तथा प्रबोधन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कर्णाली प्रदेशका प्रवक्ता तथा यस कार्यक्रमका प्रदेश प्रतिनिधि दमनबहादुर शाही र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिनबन्धु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
जुम्लामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेताहरूले पार्टीको नीतिगत पक्ष, स्थानीय मुद्दाहरू र संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल गरेका छन्। प्रमुख अतिथि दिनबन्धु श्रेष्ठले पार्टीको हालको अवस्था, भावी रणनीति, र नेतृत्वको भूमिकाबारे प्रकाश पार्दै जिल्लास्तरमा पार्टीलाई थप मजबुत बनाउन आवश्यक कदमहरूबारे मार्गदर्शन प्रदान गरे।
कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाहीले प्रदेशस्तरमा पार्टीको योगदान र आगामी योजनाहरूलाई लिएर चर्चा गरे। कार्यक्रममा स्थानीय नेताहरूले जुम्लाको राजनीतिक, आर्थिक र सामाजिक विकासका विषयमा आ-आफ्ना धारणा राखेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुन सिंह कठायतले यस प्रकारका अन्तरक्रिया कार्यक्रमहरूले पार्टीलाई अझ सुदृढ बनाउने र कार्यकर्ताहरूमाझ नयाँ जोश तथा ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा जुम्ला जिल्लाका विभिन्न गाउँपालिकाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीका निर्णय, कार्यशैली र आगामी चुनावी रणनीतिबारे खुला छलफल गरेका थिए। यसले जिल्लास्तरमा पार्टीभित्रको सहकार्य र एकतामा थप मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रकाश उपाध्याय । २०८१ मङ्सिर १३