काम गर्ने जनप्रतिनिधिको प्रतीक्षामा जुम्ली मतदाता

 जुम्ला—पातारासी–४ का मोतिराम बुढा अहिलेसम्मका कुनै पनि चुनावमा गाउँका माग सम्बाेधन गर्ने प्रतिनिधि छान्न नसकेकोमा निराश छन्।२०४८ को संसदीय चुनावदेखि मतदाताकाे भूमिकामा रहे पनि उनी हालसम्म जिल्लाको मुहार बदल्ने जुम्लाप्रतिनिधि पाउन सकेका छैनन्। यहीँ कारणले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कस्तो प्रतिनिधि छान्ने भन्नेमा अन्योलमा छन्।

‘अहिलेसम्म धेरै प्रतिनिधि बने,’ उनले भने, ‘तर हाम्रो बाटा अझै कच्चा छन्। मुहान सुक्दा पानीका धारा बन्द हुने गरेका छन्। शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ। अस्पताल जान नपाएर बिरामी गाउँमै थन्किरहनु परेको छ।’जुम्ला पातारासी गाउँपालिकाकी लुम्की चुट्कला कामी हरेक चुनावमा उम्मेदवारसँगै मत माग्ने काममा संलग्न हुँदै आएकी छिन्।

तर यो पटक उनको अनुहारमा चमक छैन। उनले भनिन्, ‘अहिलेसम्म जिताएका प्रतिनिधिले जनताको काम गरेनन्। काम पर्दा फोन उठाएनन्, गाउँ फर्केर दुःखी बिरामीको अवस्था बुझेनन्। उल्टै मतदातासँग सम्बन्धबिच्छेद गरेर रमाए। यसपटक उम्मेदवारसँगै हिँडेर मत माग्ने काम हुने छैन।’सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ। तर जुम्लाका गाउँ बस्तीमा चुनावी रौनक भने देखिएको छैन। अधिकांश मतदाता व्यापारका सिलसिलामा जिल्ला बाहिर रहेका छन्। ‘जिल्लाभित्र रहेका पनि चुनाव आएकोमा खुसी छैनन्,’ चुट्कलाले भनिन्।
जुम्लामा हरेक निर्वाचनमा उम्मेदवारहरूको मनोनयन दोहोरिन्छ, तर अहिलेसम्म कसैले पनि जित दोहोर्‍याउन सकेका छैनन्। कारण, जुम्लेली जनमत बदलिरहन्छ।

जुम्लावासीले जितेर गएका प्रतिनिधिहरूले जनताको आवश्यकता, भावना र माग अनुसार काम नगरेको भन्दै हरेक चुनावमा नयाँ अनुहार पठाउने गरेका छन् ।जुम्लामा पुरानै अनुहारलाई दलले टिकट दिए पनि जितको ईतिहास छैन। मतदाताले नयाँ परिस्थितिअनुसार नयाँ अनुहार छान्न चाहन्छन्।

हरेक नेताको परीक्षण भइसकेको कारण एक पटक मैदानमा उत्रिएको नेतृत्व पुनः उठ्न तर्सिनुपर्ने अवस्था छ। जुम्लाका स्थानीय जगतबहादुर रोकायाले भने, ‘जनताको माग सम्बाेधन गर्न नसक्ने भएकोले अहिलेसम्म एउटै जनप्रतिनिधि दोहोर्‍याएको छैन।’

अहिले जुम्लाका बस्तीहरु सुनसान छन्। हिउँदमा अधिकांश जुम्ली व्यापारका लागि तलतिर जाने गर्छन्। गाउँमा रहेका पनि चुनावप्रति उत्साहित छैनन्। निर्वाचित सांसदले मतदाताको मन जित्ने काम नगरेको भन्दै मतदातामा निराशा बढेको छ। ‘एक त जनताको मनोविज्ञान बुझेरै पार्टीले उम्मेदवार दोहोर्‍याउँदैन, अनि चुनिएका सांसदले चुनावी प्रतिबद्धता पूरा गर्दैनन्।

सांसद बनेका नेतासमेत चुनाव जितेपछि मतदातालाई बिर्सँने हुँदा जुम्ली जनतामा सन्तोष कम छ,’ रोकायाले भने, ‘बाढीले बगाएका कुला बनाएका छैनन्।सडक पक्की हुन सकेका छैनन्। शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्था सुधार्न सकेको छैन। रोजगारीका अवसर अभाव नहुँदा वर्षौंदेखि कालापहाड झर्ने बाध्यता उस्तै छ ।’ काम नगर्ने र सपना मात्रै बाँड्ने भएका कारण हरेक चुनावमा प्रतिनिधि बदल्ने गरेकाे उनले बताए ।

मतदाताको माग अनुसार घरदैलोमा आएर हारगुहार गर्नेभन्दा पनि जनताको जीवनशैली बुझेर, साधारण जीवनशैली भएका, जनमुखी काम गर्ने र संसदमा दबाब दिन सक्ने प्रतिनिधि छान्ने जुम्लावासीको चाहना रहेकाे राेकायाले बताए ।

प्रकाशित मितिः   २०८२ पुष १४ at 12:08 pm 

  • कमेन्ट (Comment)