धमिलो भेरी


बगेको भेरी नदी
सायद खुसी नै छैन्
जब यी मेरा दुई आँखाले
भेरीलाई नियालेर हेरे
तब भेरीको निकै उराठ लाग्दो स्वरुप
कैद भयो मेरा आँखामा

जात व्यवस्थाको अग्लो, जटिल, खतरनाक
पर्खालले जब सिमा पार गरेर
नवराजहरू मार्‍यो
एक्काइसौं शताब्दीमा आएर

जब मान्छेलाई मान्छे भन्न तयार भएन
यो क्रूर समाज
तब भेरीले सचेतना फैलाउनको निमित्त
आफ्नो स्वरुप परिवर्तन गर्‍यो

भेरीमा नवराजहरु मात्रै मरेनन्
भेरीमा स्वयंम् भेरीकै स्वरुप मर्‍यो
भेरीको रङ्ग मर्‍यो
भेरीको उमङ्ग मर्‍यो

जब भेरीले देख्यो निर्मम रुपमा
समाजका कथित उपल्लो भनिनेले
नवराहरु मारेको
मानव अस्तित्व माथि हमला गरेको
तब भेरी मन छिन्नभिन्न भयो

भेरीले कहिल्यै चाहेको थिएनन्
नवराजहरुको रगत
आफ्नो शरीरमा मिसावट गर्न
जब सामन्ती व्यवस्थाले नवराजहरु मारिए
तबदेखि अपुरो देखिन्छ
अधुरो देखिन्छ

सायद नवराजहरुलाई जातकै कारण
हत्या गरेर भेरी नफालेको भए
भेरी यति धेरै उराठ लाग्दो र
धमिलो देखिन्थिएन होला
र आज नवराजको सम्झनामा
भेरी धमिलो बनेको छ।

प्रकाशित मितिः   २०८१ जेष्ठ १२ at 8:04 pm 

  • कमेन्ट (Comment)