सार्वजनिक शिक्षा गुणस्तरीय छ, अझ राम्रो बनाउन सकिन्छ : अन्तर्वार्ता

सार्वजनिक शिक्षा सुधार अभियान -२

के सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिइँदैन? हामी आफू गलत छौं, जो सामुदायिक विद्यालय राम्रो हुँदाहुँदै पनि सामुदायिक विद्यालयलाई गलत साबित गरिरहेका छौं। हामीले भ्रम मात्रै पालेका बसेका छौं भनेर प्रमाणित गरेको छ, चन्दननाथ नगरपालिका -८ जातिभिडमा रहेको भगवती आधारभूत विद्यालयले। उक्त विद्यालयका प्रधानाध्यापक भिम थापासँग कनका खबरका लागि विक्रम तिरुवन ‘सलिन’ले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ।

निजी विद्यालयबाट मात्र गुणस्तरी शिक्षा पाइन्छ भन्ने भ्रम तपाईंको विद्यालयले तोडेको छ। यो कसरी सम्भव बनाउनु भयो?

अहिलेको परिवेशमा विद्यालयलाई दुई धारमा विभाजन गरेको पाइन्छ। एउटा सामुदायिक र अर्को निजी। त्यसमध्ये अहिले प्रायः जस्तो अभिभावकहरुको संकुचित सोच भनेको सामुदायिक भन्दा निजी विद्यालयमा गुणस्तरीय तथा प्रभावकारी शिक्षण हुने र सामुदायिक विद्यालय भनेजस्तो पढाइ नहुने भन्ने सोचाइ रहेको पाइन्छ। यो बिल्कुल गलत छ। प्रायःजसो सामुदायिक विद्यालय निजि विद्यालय भन्दा धेरै राम्रो पढाइ हुने गरेका छन्। फरक यति मात्र हो, निजी विद्यालयमा अभिभावकको प्रत्यक्ष लगानी रहेको हुन्छ। त्यही लगानीको कारण आफ्ना नानीबाबुहरुलाई हरबखत पढाइमा चासो दिने र सामुदायिक विद्यालयमा पढ्ने नानीबाबुहरुलाई उनीहरुको पढाइप्रति त्यति चासो नदिने हुँदा उनीहरुको नजरमा सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्राप्त हुँदैन भन्नू एउटा भ्रम मात्र हो।

अभिभावकहरुको यो भ्रमलाई हाम्रो विद्यालयले अभिभावकहरुको बिना लगानी नि!शुल्क रुपमा वा नर्सरीदेखि कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यम र कक्षा (६) छदेखि कक्षा आठसम्म नेपाली माध्यमबाट पठनपाठन संचालन हुँदै आइरहेको छ। नर्सरीदेखि आठसम्म प्रोजेक्टद्वारा शिक्षण कार्य हुँदै आएको छ। प्रत्येक विद्यार्थीहरुको हातमा होमओर्क डायरी छ। कमजोर विद्यार्थीहरुका लागि थप कक्षाको व्यवस्था रहेको छ भने अभिभावक भेटघाट कार्यक्रम गर्नुको साथै शिक्षक शिक्षिकाहरुले प्रत्येक दिनको दैनिक पाठयोजना, कक्षाकोठा व्यवस्थापन बसाइँ व्यवस्थापन, दैनिक गृहकार्य परिक्षण गर्ने गरेको हुँदा गुणस्तर शिक्षामा सम्भव भएको जस्तो लाग्छ।

तपाईं विद्यालयको प्रधानाध्यापक भइरहँदा के कस्ता सुधार काम गर्नुभयो विद्यालयमा?

विद्यालय भनेको शिक्षा दिने एउटा महत्त्वपूर्ण थलो हो । यसलाई विद्याको मन्दिर पनि भनिन्छ। यस्तो ज्ञान सीप र शिक्षा दिने पवित्र ठाँउलाई राम्रो बनाउन प्रधानाध्यापकको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। म यस विद्यालयको प्रधानाध्यापक भइरहदा यहाँको आर्थिक, शैक्षिक, भौतिक पक्षमा सुधार गर्दै आइरहेको छु। समुदायको आवश्यकता अनुसार यस विद्यालयलाई कक्षा पाँचसम्म स्तर उन्नति गरी कक्षा आठसम्म ल्याउने काम हामीले नै गरेका हौं।

ती मध्ये यावत् कुरा हामीले अवलम्बन गरेका छौं ती मध्ये केही अन्य सामुदायिक विद्यालयले नगरेको देखिन्छ। हाम्रो विद्यालयमा भएका विकासहरु निम्न छन्। भूकम्प रहित पक्की भवनहरुको निर्माण, खुल्ला खेल मैदानको विस्तार तथा घेरावार, स्वच्छ खानेपानीको व्यवस्था, फूलबारी बगैंचाको व्यवस्था, आइसीटी ल्यापटपको व्यवस्था, विद्यार्थीहरुलाई नि:शुल्क झोला र पोशाकको व्यवस्था, शृङ्गार गार्डेनको व्यवस्था, छात्र छात्रा शौचालयको व्यवस्था, एक शिक्षक एक ल्यापटपको व्यवस्था, प्रोजेक्टरद्वारा टिचर टकिङ्को माध्यमबाट शिक्षक कार्य गरिएको छ।

सामुदायिक विद्यालयमा राम्रो पढाई हुन्न भन्ने भनाइ छ नि यसमा तपाईंको मत के छ?

सामुदायिक विद्यालय भनेको सरकारी विद्यालय हो। सरकारी विद्यालय भन्ने बित्तिकै सबैको नजर राम्रो हुँदैन भन्ने हुन्छ यसमा, म असमत छु। निजी विद्यालयमा पढ्दैमा दुई शब्द अङ्ग्रेजी फरर बोल्दैमा त्यहाँको पढाइ राम्रो छ भनेर बुझ्नु गलत हो। सामुदायिक विद्यालय निजी विद्यालय भन्दा कम छैनन्। जुन ठाउँमा शिक्षक अभिभावक र विद्यालय व्यवस्थापन समिति नङ र मासुको सम्बन्ध कायम हुन्छ । त्यो अवस्थामा विद्यालय धेरै राम्रा छन्। एक दुई विद्यालय नराम्रा हुँदैमा सबै विद्यालय नराम्रा हुन्छन् राम्रो पढाई भन्नू सरासर गलत सोचाइ हो। सरकारी विद्यालयमा शिक्षक सेवा आयोगबाट नियुक्ति लिएर आएका योग्य तथा दक्ष शिक्षक शिक्षिका रहेका हुन्छन्।

शिक्षण सिकाइ कसरी गर्ने? भन्ने कुराको अनुभव रहेको हुन्छ। भने अहिलेसम्म जो जति निजामती र अन्य क्षेत्रमा काम गर्ने भनेका सामुदायिक विद्यालयबाट पढेर गएका विद्यार्थीहरु नै छन्। यदि सामुदायिक विद्यालयमा राम्रो पढाई नहुदो हो त निजामती क्षेत्रमा यसरी प्रवेश कसरी गर्थे? अहिलेसम्मको अवस्थालाई हेर्दा सामुदायिक विद्यालयमा अध्यापन जोड्दा विद्यार्थीहरुले मात्र सरकारी तथा गैरसरकारी क्षेत्रमा बढी प्रमुत्व जमाएको देखिन्छ। त्यसैले सामुदायिक विद्यालयमा पढाई राम्रो हुन्छ भन्ने कुरामा म सहमत छु।

सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ?

सरकारी तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ। किनकि सामुदायिक विद्यालयमा शिक्षा सेवा आयोगबाट उतिर्ण भएका शिक्षकहरुले मात्रै अध्यापन गराउने भएकोले सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक शैक्षिक सामाग्री व्यवस्थापनका साथै नेपाल सरकारले सामुदायिक विद्यालयहरुमा विभिन्न खाले कार्यक्रमहरुको सहयोग गरी बालमैत्री अवधारणा अनुसार शिक्षा प्रदान गरिने भएकोले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ।

सरकारी विद्यालय कसरी सुधार्ने गर्न सकिएला?

सामुदायिक विद्यालय सुधार गर्ने निम्न पक्षहरुको आवश्यकता रहन्छ। जस्तै: सर्वप्रथम विद्यालयमा जस्तो संवेदनशील क्षेत्रमा राजनीति हुनु हुँदैन। र अभिभावकले सामुदायिक विद्यालयमा हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्दछ। अभिभावक विद्यालय व्यवस्थापन समिति शिक्षक र विद्यार्थीहरुबीच सुमधुर सम्बन्ध हुन आवश्यक छ। नेपाल सरकारले शिक्षकहरुलाई तालिमको व्यवस्था अझ व्यापक रुपमा गर्नुपर्दछ। विद्यालयको शैक्षिक वातावरण स्वच्छ बनाउन स्थानीय सरकारले लगानी गर्नुपर्छ। त्यस्तै सरकारी विद्यालय सुधार गर्न बेलाबेलामा अनुगमनलाई जोड दिनुपर्छ। अनि मात्र सरकारी विद्यालय सुधार गर्न सकिन्छ।

सामुदायिक विद्यालय सुधार गर्न कसले कस्तो खालको भूमिका निर्वाह गर्नुपर्ला?

सामुदायिक विद्यालयमा सुधार गर्न विभिन्न पक्षहरुको भूमिका आवश्यक रहन्छ। त्यसमा सर्वप्रथम अभिभावकको भूमिकामा उहाँहरुले आफ्ना छोराछोरीलाई शैक्षिक सामाग्रीको व्यवस्थापनगरि नियमित विद्यालय पठाउनुपर्छ। विद्यालयप्रति हेर्ने दृष्टि र सोचाइ सकारात्मक हुन आवश्यक छ। अभिभावकले विद्यालयमा राजनीति गर्नु हुँदैन। विद्यालयमा आफ्ना छोराछोरी गए या गएन र गृहकार्य गरे नगरेको मूल्यांकन अभिभावक स्वयंले गर्नुपर्छ। विद्यालयले बोलाएको बेलमा सहभागी हुने र विद्यालयलाई पृष्ठपोषण दिने गर्नुपर्छ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिको भूमिका पनि अहम् हुन्छ। विद्यालयको शैक्षिक वातावरण स्वच्छ राख्ने काम गर्नुपर्छ। शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्नुपर्छ। व्यावहारिक वातावरणलाई व्यवस्थापन गरि कार्यान्वयन गर्नुपर्छ। विद्यालयम आवश्यक भौतिक संरचनाहरुको व्यवस्थापन मिलाउनु पर्छ भने त्यस्तै विद्यालयको विद्यार्थीहरुको अनुपातमा शिक्षक अभाव भएमा तहगत अनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्छ।

साथसाथै विद्यालय सुधार्नमा प्रमुख भूमिका प्रधानाध्यापकको पनि हुन्छ। शिक्षकहरुलाई जिम्मेवारी बाँडफाँड गरि आआफ्नो कामलाई कार्यान्वयन गराउने काम प्रधानाध्यापकको हो। विद्यालयको शैक्षिक वातावरणलाई स्वच्छ राख्नुपर्छ। विद्यालयको सम्पत्तिलाई हिनामिना हुन दिनुहुन्न। विद्यालयमा राम्रो काम गर्ने शिक्षकलाई प्रोत्साहन गर्नुपर्छ। विद्यालयमा आवश्यक पर्ने शैक्षिक, भौतिक, आर्थिक कार्यलाई व्यवस्थापन गर्नुपर्छ। समुदाय विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ शिक्षक, विद्यार्थी स्थानीय तह प्रदेश सरकार संघीय सरकार र गैरसरकारी संघ संस्थाहरुसँग समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्छ। हाम्रो विद्यालय नभई राम्रो विद्यालयको अवधारणा ल्याउने भूमिका प्रधानाध्यापकको रहन्छ।

अब सार्वजनिक शिक्षा सुरधार्न स्थानीय तहको भूमिका पनि उत्तिकै हुन्छ। राजनितिकरण गर्नु हुँदैन। हाम्रो मान्छे नभई राम्रो मान्छे शिक्षकको व्यवस्थापन गर्नुपर्छ। विद्यार्थी संख्या अनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्छ। शैक्षिक र भौतिक संरचनाको अवलोकन गरेर उचित व्यवस्थापन गर्नुपर्छ। समय समयमा अनुगमन तथा मूल्यांकन र शैक्षिक उपलब्धि बढी ल्याउने र राम्रो काम गर्ने विद्यालयलाई पुरष्कृत गर्नुपर्छ।

शिक्षालाई तिनै तहका सरकारले हेर्ने हुनाले प्रदेश तथा संघीय सरकारको भूमिका पनि उत्तिकै छ। समय सापेक्ष अनुसार ऐन नियम परिमार्जन गरि कार्यान्वयन गर्नुपर्छ। निजामती वा सो सरह शिक्षकलाई सेवा सुविधा दिनुपर्छ। विद्यालयको अवस्था हेरेर भौतिक, शैक्षिक र आर्थिक पक्षमा जोड दिनुपर्छ। पुरानो पाठ्यक्रमलाई मान्यता नदिइ जीवन उपयोगी शिक्षालाई जोड दिनुपर्छ।

जुम्लामा रहेका निजी विद्यालय र सरकारी विद्यालयमाले भिन्नता देख्नुहुन्छ?

जुम्लामा रहेका निजी तथा सरकारी विद्यालय बीचमा निकै फरक पाइएको छ। जस्तै सरकारी विद्यालयमा नि:शुल्क शिक्षाको व्यवस्थापन भएको छ भने निजी विद्यालयमा सशुल्क लिने गरिन्छ। दक्ष तालिम प्राप्त शिक्षक सेवा आयोगबाट सिफारिस भई शिक्षकको व्यवस्थापन हुन्छ सामुदायिक विद्यालाय भने निजि विद्यालयमा आवश्यक अनुसार मात्र शिक्षकको व्यवस्थापन गरिएको हुन्छ।

सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई नि:शुल्क पाठ्यपुस्तक दिवा खाजा छात्रवृत्तिको व्यवस्था हुन्छ भने निजि विद्यालयमा त्यस्तो कुनै व्यवस्था हुँदैन। सरकारी विद्यालयमा अभिभावकको लगानी शुन्य हुन्छ भने निजिमा अभिभावकको लगानी बिना सम्भव नै हुँदैन। सरकारी विद्यालयमा अभिभावकल्व हेर्ने नजर नकारात्मक हुन्छ भने निजिमा हेर्ने नजर सकारात्मक हुन्छ।

प्रकाशित मितिः   २०८१ बैशाख २४ at 1:46 pm 

  • कमेन्ट (Comment)