भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित पातारासी गाउँपालिकाका परिवारलाई जडिबुटी व्यवसायी जंगबिर बोहोराले १५ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको सहयोग गरेका छन् ।
पातारासी गाउँपालिका–२ निवासी बोहोराले भदौ १० गते भोटेकोसी बाढीका कारण प्रभावित तथा सम्पर्कविहीन परिवारका आफन्तलाई राहतस्वरूप ४९ घरपरिवारलाई प्रतिपरिवार ११ हजार रुपैयाँका दरले ५ लाख ७७ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेका हुन् । उनले केही खाद्यान्नसमेत उपलब्ध गराएका छन् ।
यस्तै, बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बोहोराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ समेत जम्मा गरेका छन् ।
बाढीपीडित परिवारलाई स्थानीय तहबाट पनि राहत उपलब्ध गराइएको छ। पातारासी गाउँपालिकाले प्रभावित परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँ नगदसहित खाद्यान्न वितरण गरेको जनाएको छ।
विपद्को कठिन समयमा बोहोराले व्यक्तिगत पहलमा गरेको सहयोगले पीडित परिवारलाई केही राहत पुगेको स्थानीयको भनाइ छ। बाढीपीडितको पीडामा मलम लगाउन थप सहयोगी हातहरू अघि बढ्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।











कनका खबर । २०८३ भाद्र ३०