नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताएकी छिन् ।
काठमाडौंको खुलामञ्चमा आइतबारदेखि शुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्क्षा सम्बोधन गर्न काँग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताइन् ।
उपसभापति भुसालले कांग्रेस २००४ सालदेखि निरन्तर लोकतन्त्रका लागि सङ्घर्ष गर्दै आएको ऐतिहासिक शक्ति भएकाले वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यसै महाधिवेशनको काँधमा रहेको स्पष्ट पारे ।
‘यो महाधिवेशन एउटा सामान्य भेला होइन । चार दशकदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै इतिहास निर्माण गरेको नेपाली काँग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण थलो हो । यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन,’ उनले भनिन् ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ बढी समावेशी र संस्थागत बनाउन तथा केन्द्रिय तहका हरेक निर्णयलाई पारदर्शी बनाएर तल्लो तहसम्म पुर्याउन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान समेत उनले गरिन् ।











कनका खबर । २०८३ असोज १८