कविता – रुवाएको आरोप

म कसैको आँखामा आँसु
देख्नै सक्दिनँ
तैपनि मलाई यहाँ
कसैलाई रुवाएको आरोप छ
म कसैलाई दुखाउने कुरा
सोच्नै सक्दिनँ
तैपनि मलाई यहाँ
कसैलाई दुखाएको आरोप छ ।

यहाँ,
कसैलाई रुवाउन पिट्नै पर्दैन
कसैलाई दुखाउन पिट्नै पदैन,
आफै आफै रुन्छन् ।

एकदिन,
म दलदलमा फसेँ
कोही आफ्नाहरु रोए
अनि म दलदलबाट बाहिर निस्केँ
त्यो बेला फेरी,
अरु कोही पराइहरु रोए ।

अर्को दिन,
म दलदल बाट निस्के पछि
विडम्बना म कतै,
कुनै जंघारमा फफेँ,
त्यो दिन पनि कोही
आफ्नाहरु रोए,
फेरी त्यस्तै अर्को दिन
म जंघारबाट बाहिर निस्केँ
अनि फेरी त्यो दिन पनि
अरु कोही पराइहरु रोए,
रुने अनि रुवाउने उपक्रम
यहाँ जारी भइरह्यो ।

वास्तवमा,
जुन दिन म खुसी हुन्छु,
त्यो दिन पराइहरु
खुसी देख्न नसकेर रुन्छन्,
जुन दिन म दुखी हुन्छु,
त्यो दिन आफ्नाहरु
दुखी देख्न नसकेर रुन्छन् ।

यसरी,
फरक फरक मान्छे
फरक फरक समयमा रोइरहन्छन्
फरक यति मात्र हो
कोही मलाई जलाउँदै रुन्छन्
कोही म जलेको देख्नै नसकेर रुन्छन्
अनि कोही मेरो खुसीमा
आफै जलेर रुन्छन्,
र मलाई रुवाएको आरोप लागिरहन्छ ।

यसैले त आजभोलि,
म हाँस्दा खेल्दा पनि
कोही रोएको जस्तो आभास हुन्छ
म उठ्दा, बस्दा पनि
कोही रोएको जस्तो आभास हुन्छ
म बोल्दा पनि
कोही रोएको जस्तो आभास हुन्छ
र मलाई कसैलाई रुवाएको आरोप
लागे जस्तो आभास हुन्छ ।

अत
यहाँ मलाई,
कोही कसैलाई रुवाएको आरोप छ,
र म यही एउटा आरोपबाट मुक्त हुनै सकिनँ ।

प्रकाशित मितिः   २०८१ असार ८ at 10:26 am 

  • कमेन्ट (Comment)