तातोपानीमा महिला स्वास्थ्य स्वयंसेविकालाई पोषणसम्बन्धी अभिमुखीकरण सम्पन्न

तातोपानी गाउँपालिकाले विश्व खाद्य कार्यक्रमको सहयोग र स्वास्थ्य शाखाको सहजीकरणमा रेरास परियोजना अन्तर्गत स्थानीय कृषि उपजको पोषण र दिवा खाजाको महत्वसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कायर्क्रमले स्थानीय स्रोत साधनको उपयोगमार्फत पोषणमा सुधार ल्याउन र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तातोपानी गाउँपालिकाका ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागितामा आयोजित कार्यक्रममा पोषणयुक्त खाजाको तयारी, वितरण र स्थानीय कृषि उपजको उपयोगका फाइदाबारे प्रशिक्षण प्रदान गरियो।

गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले कार्यक्रममा बोल्दै भने, “स्थानीय कृषि उत्पादनको सही उपयोग गरी पोषण सुधार गर्नु हाम्रो प्राथमिकता हो। यस अभिमुखीकरणले महिला स्वयंसेविकालाई आफ्नो समुदायमा पोषणसम्बन्धी सचेतना फैलाउन सक्षम बनाउनेछ।”

गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले महिलाको सशक्तीकरण र समुदायस्तरमा पोषण सुधारका लागि यस्ता कार्यक्रमको महत्त्वलाई जोड दिँदै भनिन्, “महिला स्वास्थ्य स्वयंसेविका समुदायको मेरुदण्ड हुन्। उनीहरूको भूमिका समुदायमा स्वास्थ्य र पोषण सुधार गर्न अत्यन्तै महत्त्वपूर्ण छ।”

प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै भने, “यो परियोजनाले स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्दै पोषण सुधारको दीर्घकालीन समाधान खोज्न मद्दत गर्नेछ। यो गाउँपालिकाको समृद्धि र स्वास्थ्य सुधारको यात्राको महत्त्वपूर्ण खुट्किलो हो।”

कार्यक्रममा सहभागी स्वयंसेविकाले स्थानीय उत्पादनबाट तयार गरिएका पोषणयुक्त खाजाको महत्त्व र उपयोगबारे जानकारी प्राप्त गरेका छन्।

रेरास परियोजनामार्फत समुदायमा पोषण सुधार र यसका दीर्घकालीन प्रभावबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

सहभागी महिला स्वयंसेविकाले कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई समुदायमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

यस कार्यक्रमले तातोपानी गाउँपालिकाको स्थानीय तहमा पोषण सुधारको अभियानलाई गति दिँदै स्थानीय स्रोत साधनको उपयोग गरेर दिगो विकासमा योगदान गर्ने देखिएको छ।

प्रकाशित मितिः   २०८१ कार्तिक ३० at 9:01 pm 

  • कमेन्ट (Comment)