जुम्लामा जारी प्रथम बृहत जुम्ला कृषी, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवमा ४ दिन थपिने भएको छ। आयोजकले आईतबार साँझ पत्रकार सम्मेलन गर्दै महोत्सव चार दिन थपिएको जानकारी दिएको हो।
वैशाख १३ गतेबाट सुरु भएको महोत्सव २३ गते सम्म सञ्चालन हुने भनिएपनि अब २७ गतेसम्म संचालन हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले बताए।
‘अघिल्ला दिनहरुमा ल्याउने भनिएका कलाकारहरु भनेको दिनमा ल्याउन सकिएको थिएन,’ उनले भने, ‘हवाई यातायात अनियमित हुँदा थुप्रै समस्या भोगेका थियौं। अब केही थप चर्चित कलाकार आउनु हुनेछ।’
उनकाअनुसार बैशाख २४ गते गायक गोपाल जि.एम, २५ गते अर्जुन सापकोटा, २६ गते सुप्रिम मल्ल ठकुरी र २७ गते अर्थात् अन्तिम दिन रेखा जोसी आउने भएका छन्।
करिब २ हजार जति नक्कली टिकट लिएर दर्शक मेलामा घुसेको उक्त प्रतिष्ठानका सचिव बिश्व राज खत्रीले बताए। उनकाअनुसार आयोजकले घाटा बेहोर्नु परेकाले ४ दिन थप गरिएको हो।
नक्कली टिकट छाप्ने लाई छानबिन गरि आवश्यक कारवाही गर्ने खत्रीले बताए। उनले भने, ‘हवाई यातायातका समस्याका कारण भनेको दिनमा केहि कलाकार ल्याउन सकिएन। तर ४ दिन थपेर भने जति कलाकार जुम्लामा भित्र्याई दर्शकलाई मनोरञ्जन दिलाउनेछौं।’
विश्व प्रकाश । २०८१ बैशाख २४