
नेविसंघ, तरुण दल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : प्रकाश उपाध्याय कनका खबर
विभिन्न २२ बुँदे माग राखेर प्रतिष्ठान विरुद्ध आन्दोलनमा उत्रिएका काँग्रेस निकट नेविसंघ र तरुण दलको आन्दोलन स्थागित भएको छ। बिहिबार प्रतिष्ठानले गठन गरेको वार्ता समिति र आन्दोलनरत पक्षले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि आन्दोलन स्थागित गरिएको जानकारी दिएका हुन।
गत असार १६ गते नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २२ बुँदे ध्यानाकर्षण बुझाएका थिए।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई प्रतिष्ठानकाे सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गराएपछि आन्दोलनका कार्यक्रम अगाडि बढाइएको नेविसंघका जिल्ला सभापति महेश हमालले बताए।
नेविसंघ र तरूण दलकाे मागकाे सम्बन्धमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यकाे नेतृत्वमा सर्वदलीय कार्यदल गठन समेत गरिएको थियोे। विभिन्न चरणमा भएका छलफल र वार्तापछि आन्दोलन स्थागन गर्ने टुंगोमा पुगिएको तरुण दलका अध्यक्ष हेम बुढथापाले बताए।
२२ बुँदे ज्ञापनपत्रका सम्बन्धमा प्रतिष्ठानले गम्भीरतापूर्वक लिदैँ कार्यकारी समितिकाे बैंठकले रजिष्ट्रार नृपेन्द्र महतकाे संयाेजकत्वमा तीन सदस्यीय संयाेजन तथा वार्ता समिति गठन गरेकाे थियाे।
बिहीबार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरूण दलले उठाएका २२ बुँदे मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता जनाएकाे रजिस्ट्रार नृपेन्द्र महतले बताए।
उनले भने, ‘१६ गते नेविसंघ र नेपाल तरूण दलले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा किड्नी डाइलासिस सेवा सुचारू हुनुपर्ने, भिडियो एक्सरे सेवा सुरू हुनुपर्ने र एम्बुलेन्स सेवा सुरू हुनुपर्ने लगायतका माग राखेका थिए। हामीमा देखिएका समस्याहरु चरणबद्ध रुपमा काम गर्दै र सुधार्दै जाने प्रतिबद्धता जनाएका छौं।’
उनका अनुसार नेविसंघ र तरूण दलका मागहरू जायज थिए। साेही अनुसार उठाइएका मागहरूलाई गम्भीरतापूर्वक लिइएकाे हो।
रजिस्ट्रार महतले पत्रकार सम्मेलनमा उठेका प्रश्न र जिज्ञासामाथि उचित सम्बोधन गरिने बताए।
यस्तै प्रतिष्ठानका डाइरेक्टर डा.पुजन राेकायाले ओपिडी, बीमा, फाेहाेर व्यवस्थापन र ब्लड बैंकका बारेमा उठेका प्रश्नमा जिज्ञासा जायज भएकाे भन्दै कार्यान्वयन गरिने बताए।
नेपाल तरूण दल जुम्लाका सयोजक बुढ्थापाले प्रतिष्ठानले गरेका प्रतिबद्धता यथाशीघ्र कार्यान्वयन हुनुपर्नेमा जाेड दिए। उनका अनुसार आन्दोलन राेकिएकाे छैन। प्रतिबद्धता अनुसार काम नभए फेरि आन्दोलन हुनेछ।
यसैगरी नेपाल विद्यार्थी संघ जुम्लाका सभापति हमालले प्रतिबद्धता सकारात्मक रहे पनि कार्यान्वयन इमानदारीपूर्वक हुनुपर्ने बताए।
उनले भने, ‘प्रतिबद्धता पुुरा हुनेमा आशावादी छाैं। आधिकारिकता त कार्यान्वयन भएपछि हुनेछ। खबरदारी गर्न पछि हट्ने छैनौं।’
पत्रकार सम्मेलनको अध्यक्षता गरिरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामीले प्रतिष्ठानका गतिविधिमाथि सचेत तवरबाट प्रश्न उठ्नु जाज रहेको बताए।
‘नेविसंघ र तरुण दलले हामीलाई खबरदारी गर्नु हाम्रो गतिविधिमा निगरानी गर्नु हो,’ उनले भने, ‘यसले हामीलाई काम गर्दा सचेत हुनुपर्ने विषयमा सजग गराएको छ।’










प्रकाश उपाध्याय । २०८१ असार २७