
वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सञ्चालित मेयर कप फुटबल प्रतियोगितामा जुम्ला जिल्ला सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा जुम्लाले चौकुनेलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको जुम्लाले पहिलो हाफमा अग्रता बनाएको थियो। जुम्लाका लागि योद्ध शाहीले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाएका थिए। पहिलो हाफमा जुम्लाले १–० को अग्रता कायम राख्दै खेल नियन्त्रणमा राखेको थियो।
दोस्रो हाफमा चौकुनेले खेलमा पुनरागमन गर्ने प्रयास गर्दै एक गोल फर्कायो। चौकुनेको गोलसँगै खेल १–१ को बराबरीमा पुगेपछि दुवै टोलीबीच प्रतिस्पर्धा थप रोमाञ्चक बनेको थियो। बराबरीपछि जुम्लाले थप आक्रामक खेल प्रदर्शन गर्दै लगातार दबाब सिर्जना गर्यो।
त्यसको केही समयमा जुम्लाका धर्मेन्द्र कुँवरले महत्वपूर्ण गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। धर्मेन्द्रको गोल नै जुम्लाका लागि जित सुनिश्चित गर्ने गोल सावित भयो। त्यसपछि चौकुनेले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन।
निर्धारित समयसम्म जुम्लाले २–१ को अग्रता कायम राख्दै महत्वपूर्ण जित दर्ता गर्यो र प्रतियोगिताको सेमिफाइनल यात्रा तय गर्यो। जुम्लाको जितमा योद्ध शाही र धर्मेन्द्र कुँवरले एक–एक गोल गर्दै मुख्य भूमिका निर्वाह गरेको टिम म्यानेजर महेश हमालले जानकारी दिए।











कनका खबर । २०८३ जेष्ठ १८