जुम्ला — देशभर जारी शिक्षक आन्दोलनप्रति समर्थन जनाउँदै गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका, जुम्ला अध्यक्ष लक्ष्मण शाहीले सरकारलाई चाँडो संघीय शिक्षा ऐन ल्याई समस्याको समाधान गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले लेखेका छन्, “सरकारले शिक्षा ऐन ल्याउनुपर्छ र आन्दोलित शिक्षकका मागहरू तत्काल सम्बोधन गर्नु न्यायोचित हुन्छ ।” उनका अनुसार विभिन्न विषयमा असन्तुष्टि जनाउँदै देशभरका करिब २८ हजार सामुदायिक विद्यालयका २ लाख ५० हजार भन्दा बढी शिक्षक तथा कर्मचारी आन्दोलनमा छन्, जसको प्रत्यक्ष असर ८० लाख विद्यार्थीको पठनपाठनमा परेको छ ।
उनले शिक्षक आन्दोलनका मागहरू संविधान र लोकतान्त्रिक मूल्यमा आधारित रहेको उल्लेख गर्दै राज्यको कर्तव्य आवाज सुन्ने र समाधान गर्ने भएको बताए । “हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौं, एक व्यक्तिको आवाज पनि सुन्ने कर्तव्य राज्यको हो भने लाखौं शिक्षकको आवाज सुन्न ढिलाइ गर्नुहुँदैन,” शाहीले उल्लेख गरेका छन् ।
शाहीले शिक्षकको आत्मसम्मान र विद्यार्थीको शैक्षिक भविष्य दुवैप्रति संवेदनशील हुन राज्य र शिक्षक नेतृत्वलाई आग्रह गरेका छन् । संविधानको मर्म, भावना र सीमाभित्र रही संवादमार्फत समस्या समाधान गरी विद्यालय तुरुन्त सुचारू गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले लेखेका छन्, “संवादमार्फत समस्या हल गरी शिक्षा प्रणालीलाई प्रभावकारी बनाउनु सबैको साझा दायित्व हो।” शाहीले आन्दोलन चाँडै टुंग्याई शिक्षण कार्य नियमित गर्न आग्रह गर्दै सरकार र सम्बन्धित निकायलाई गम्भीर ध्यान दिन अनुरोध गरेका छन्।
कनका खबर । २०८१ चैत्र २३