जुम्लाको तिला गाउँपालिका–६ सुडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको उद्घाटन गरिएको छ। करिब ६२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्वास्थ्य सेवा केन्द्रको जिल्ला समन्वय समिति सदस्य रचा रावत र तिला गाउँपालिका–६ का वडा अध्यक्ष जंग रोकायले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
जिल्लाकै दुर्गम क्षेत्रका रूपमा रहेको सुडी तिला गाउँपालिकाको वडा नं. ६ को पनि दुर्गम बस्ती हो । यसअघि सामान्य स्वास्थ्य सेवा लिनसमेत स्थानीयवासीले वडा तथा गाउँबाहिरका स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य इकाइ केन्द्र सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष जंग रोकायले स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीयवासीको स्वास्थ्य सेवामा पहुँच बढ्ने बताए । उनले भने, “सामान्य स्वास्थ्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता थियो । अब केही हदसम्म भए पनि स्थानीय नागरिकलाई राहत पुग्नेछ।”
केन्द्रमा हाल अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहने व्यवस्था गरिएको छ । उनीहरूको टोलीले नियमित रूपमा स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
दुर्गम बस्तीमा स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै यसलाई गाउँको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।











कनका खबर । २०८३ भाद्र २९