मुगु,
छायाँनाथ रारा नगरपालिका, मुगुको आर्थिक सहयोग र गमगाढ जल विद्युत् वितरण केन्द्रको सहजिकरणमा वडा नं. १० र ११ का ९ वटा गाउँमा विद्युत् सेवा विस्तार भएपछि स्थानीय बासिन्दाहरूमा उत्साह र खुसी छाएको छ। बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्युत् सेवाको उद्घाटन गरिएको हो।
नगरप्रमुख विष्णु कुमार भामले तल्लेख, ल्वारपन्न, घट्लेख, चराप, गाँडापानी, झाकोट, रोवा, र्याङ्चेकाटी, र सालिम गाउँमा विद्युत् विस्तार गरिएको जानकारी दिनुभयो। यो परियोजना सम्पन्न गर्न करिब दुई वर्ष लाग्यो र नगरपालिकाको कुल १ करोड ९३ लाख खर्च भएको बताइएको छ।
नगर प्रमुख भामले विद्युत् विस्तारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै यो सेवा स्थानीयको दैनिक जीवनमा सहजता ल्याउनुका साथै समग्र विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका वक्ताहरूको धारणा
उद्घाटन समारोहमा नगर प्रमुख भाम, पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल, निवर्तमान नगरप्रमुख हरिजङ्ग शाही, नेपाली कांग्रेस कार्यवाहक सभापति कर्णबहादुर रावल, उपप्रमुख ऐश्वर्य मल्ल, प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही, र गमगाड वितरण केन्द्रका प्रमुख साजन ऐडी लगायतले मन्तव्य व्यक्त गरे।
उनीहरूले बिद्युत् सेवाबाट वञ्चित यस क्षेत्रका बासिन्दाको समृद्धिमा टेवा पुग्ने र दैनिकीमा सुधार आउने कुरामा जोड दिए।
स्थानीयस्तरमा व्यापक सहभागिता
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली, र गाउँवासीको उल्लेखनीय उपस्थिति थियो। पछिल्लो समयमा करिब एक दर्जन बस्तीलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ, जसले ग्रामीण क्षेत्रमा विकासको नयाँ आयाम थपेको छ।
नगरपालिकाले आगामी दिनमा अझै प्रभावकारी योजनाहरू ल्याउने प्रतिवद्धता जनाउँदै यो उपलब्धिले समग्र नगरपालिकाको विकासमा योगदान पुग्ने विश्वास लिएको छ।
मोहन शाही । २०८१ पुष २५