१.
सृजनाको सम्मान होस्, कलम सधैं शिर बनोस्
भावनाको प्रसंशा होओस्, व्यङ्गको तीर बनोस्
शब्दशब्दको प्रसाद चढाइ मुक्तकको वर पाइरहुँ
म भक्त अक्षर भगवान् मुक्तकालय मन्दिर बनोस् l
– जिज्ञासु पौडेल तिलक/बुटवल
२.
उडी चन्द्र छुने, सदा भलो हुने, उद्देश्य लिन सकौँ
साहित्य सुधाको युग उदय होस् विश्वास दिन सकौँ
सबैको भलो होस्, सबैको जय होस् मिलेर थपौं इटा
आश्रय गतिलो मुक्तकालय होस् सदा झाँगिन सकौँ ।
– बेद प्रसाद ढुङ्गेल/इलाम
३.
अग्रजको आशा अनुजको लागि दियो बनेर उभिने छ
शब्द बाटिकाको बगैंचामा एउटा मियो बनेर उभिने छ
हरेक मुक्तक प्रेमीहरुको पाठशाला प्रेरणाको श्रोत भई,
आशा छ मुक्तकालय अनन्तसम्म बलियो बनेर उभिने छ ।
– मानुषी मनु/काठमाडौं
४.
लेख्न सकौं शव्द भाव यो कलम हरपल निर्भय होस्
मुक्तक साहित्य मौलाओस् सधैं यो विधाको जय होस्
प्रष्फुटित हुन् निर्वाद निरन्तर स्रष्टाका सुन्दर भावना
पढ्ने र पढाउने विश्वविधालय यहि मुक्तकालय होस् ।
– नवराज पोखरेल नवशिला/काठमाडौं
५.
कुण्ठित प्रतिभाले शिखर चुम्ने नवीन आशा लिएको छ,
कागजमा सीमित शब्द जीवन्त हुने किरण चम्किएको छ
थोपाथोपा सरी सर्जकहरुलाई एकै घैंटोमा एकत्रित गरी
अविरल प्रयत्नले दर्बिलो थलो मुक्तकालय जन्मिएको छ ।
– तुल्सीराम दाहाल/ इटहरी
काठमाडौंमा संचालित ‘फोटोमा मुक्तक प्रतियोगिता’को एक सय १७५ औं विशेष शृङ्खला हीरक अंक सम्पन्न भएको छ। फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रम काठमाडौंका सुनिल अधिकारीद्वारा परिकल्पना गरिएको नेपाली साहित्यको मुक्तक विधालाई उन्नयन र प्रवर्द्धन गर्नको लागि सुरुवात गरिएको कार्यक्रम हो।
प्रत्येक शृङ्खलामा ५ जना मुक्तककारलाई विजेता घोषणा गर्ने गरिन्छ। तिनै विजयी पाँच जना मुक्तककारका ५ वटा मुक्तकहरु फोटोमा मुक्तक प्रतियोगिताको एक सय ६४ औं शृङ्खलाबाट कनका खबरको अनलाइन पत्रिकाबाट छपाइँदै आइएको छ।
कनका खबर । २०८१ जेष्ठ ३०