यूवालाई उत्पादनसँग जोड्दै तातोपानी

जुम्लाको तातोपानी गाउँपालिकाले युवालाई उत्पादनसँग जोड्ने नीति लिएको छ। बेरोजगारी समस्यालाई मध्यनजर गर्दै उत्पादन, उद्यमशीलता, पर्यटन, कृषि तथा विकास क्षेत्रसँग यूवालाई जोडेर रोजगारी बृद्धि गर्न नीति बनाउन लागिएको हो।

जिल्लामै पहिलो रोजगार संवाद मञ्च गठन गरेको तातोपानीले स्थानीय यूवालाई रोजगारसँग जोड्न प्रक्रिया थालेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत सुचिकृत बेरोजगार काम विहिन यूवालाई रोजगारी प्रदान गर्न छुटै नीतिनै बनाइनेछ,’ उनले भने, ‘सुचिकृत यूवालाई बाटोघाटो बनाउने मात्र नभई उत्पादनशील क्षेत्रमा जोडेर जीविकोपार्जनमा सुधार ल्याउने खालको यूवा रोजगार नीति बनाइनेछ।’

उनका अनुसार यतिबेला आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने बेला भएको छ। तातोपानीको मुख्य समस्या नै बेरोजगारी भएकाले बेरोजगारी घटाउन उत्पादनमुखी तथा युवामैत्री नीति निर्माणमा जोड दिन जरुरी छ। स्थानीयस्तरमा पाइने स्रोत साधनको अधिकतम प्रयोग गरी रोजगारी सृजना गर्ने, उत्पादन वृद्धि तथा बजारीकरणमा वृद्धिमा पालिकाको प्राथमिकता छ।

तातोपानी गाउँपालिकाबाट हुने हरेक विकास निर्माणका काममा अनिवार्य सुचिकृत यूवाको सहभागिता हुने खालको नीति बनाउन लागिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए।

उनले भने, ‘तातोपानीका ८ वटै वडाका सुचिकृत यूवाको सुचि तयार गरी दक्ष तथा अर्धदक्ष छुटाएर राख्ने र आवश्यकताको आधार कामदार चाहिएमा समेत सुचिकृत यूवालाई पठाउन सकिने गरी व्यवस्थापन गरिनेछ।’

रोजगार संयोजक सरिता शर्माले तातोपानीमा बेरोजगारीको स्थिति, रोजगारी सृजनाका आधार, सम्भवाना पहिचान सहितको स्थानीय रोजगार नीति निर्माणलाई अघि बढाउन सबैको सुझाब आवश्यक रहेको बताइन्।

उनका अनुसार गत आवमा २२ सय र चालु आवमा १६ सय यूवा बेरोजगारका रुपमा सूचिकृत भएका छन्। सूचिकृत भएका मध्य अधिकांश यूवाले रोजगारी पाएका छैनन्। प्रधानमन्त्री रोजगारको काम बाटो घाटो बनाउने बाहेक अरु हुन सकेको छैन्।

मंगलबार तातोपानीमा आयोजित रोजगार संवाद मञ्चको गोष्ठीमा सहभागी नागरिक अगुवा, उद्यमी, व्यवसायीले रोजगारी बृद्धिका लागि उद्यमशीलता, प्रविधि, हातेहोजियारी, सिलाइकटाइ, इलेक्ट्रोनिक व्यवसाय, कृषि उत्पादन, पर्यटन प्रवद्र्धन विकास निर्माणलगायतका विभिन्न क्षेत्रसँग बेरोजगार युवालाई जोडेर आयआर्जन वृद्धि गर्ने खालको ठोस नीति बनाउन सुझाब दिएका थिए।

 

प्रकाशित मितिः   २०८१ जेष्ठ २५ at 10:55 am 

  • कमेन्ट (Comment)