राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव

सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले नै यस्तो प्रस्ताव राखेका हुन् ।
सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । उक्त बैठकमा सभापति लामिछानेले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’

सरकारको राहत र उद्धार कोषलाई एकद्वार मानेर सबै दल एक ठाउँमा उभिएर सहयोग गर्ने पनि उनको आग्रह रहेको छ ।

सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका छन् ।

प्रकाशित मितिः   २०८३ भाद्र ११ at 10:36 am 

  • कमेन्ट (Comment)