चैत ९ गते देखि एचपीभी खोप अभियान सुरु हुने : १२७७ जना किशोरीलाई खाेप लगाइदै

पाठेघरको मुखको क्यान्सर जस्तो घातक रोगबाट किशोरीहरूलाई समयमै जोगाउने उद्देश्य सहित जुम्लामा एचपीभी खोप अभियान सुरु हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको यो अभियानले जिल्लाभरका १ हजार २ सय ७७ जना किशोरीको स्वास्थ्य सुरक्षामा प्रत्यक्ष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
चैत ९ गते देखि औपचारिक रूपमा सुरु हुने अभियान जुम्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन हुनेछ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख किरण कुमार शर्माका अनुसार अभियानका लागि ८४ वटा विद्यालयलाई खोप केन्द्र तोकिएको बताए ।
उनले भने, ती केन्द्र मार्फत कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप दिइनेछ । सरकारले एचपीभी खोपलाई नियमित खोप प्रणालीमै समावेश गरिसकेको सन्दर्भमा यो अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरिएको प्रमुख शर्माले जानकारी दिए ।
अभियान सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा बुधबार सरोकारवालासँग विस्तृत छलफल समेत गरिएको छ । छलफलमा सूक्ष्म योजना, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कार्यान्वयनका विषयमा विशेष जोड दिइएको थियो ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख शर्माले अभियानलाई सफल बनाउन सबै पक्षको समन्वय अपरिहार्य रहेको बताए। उनका अनुसार, यो खोप किशोरीहरूको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम हो, त्यसैले कुनै पनि लक्षित समूह छुट्न नदिने हाम्रो प्रयास रहनेछ ।
पालिकागत लक्ष्य अनुसार चन्दननाथ नगरपालिकामा २ सय ७७, तातोपानी गाउँपालिकामा १६४, गुठिचौर गाउँपालिकामा ७७, पातारासी गाउँपालिकामा २ सय २१, तिला गाउँपालिकामा १ सय ८५, हिमा गाउँपालिकामा २ सय २१, सिजा गाउँपालिकामा १ सय ३५ र कनकासुन्दरी गाउँपालिकामा १ सय ७७ जना किशोरीलाई खोप लगाइने छ ।
यसरी जिल्लाभर कुल १,२७७ किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको छ। गत वर्ष कक्षा ७ देखि १० सम्मका किशोरीलाई लक्षित गरिएको एचपीभी खोप यस वर्ष भने कक्षा ६ मा अध्ययनरत छात्राहरूमा केन्द्रित गरिएको छ।
प्रमुख शर्माका अनुसार, कनकासुन्दरी गाउँपालिकामा चैत ९ र १० गते, तिला गाउँपालिकामा १० र ११, हिमा गाउँपालिकामा १०,११, सिंजामा ९ र १०, तातोपानीमा ९ र १०, गुठिचाैरमा ११ र १२, पातारासीमा ९ र १० र चन्दननाथ नगरपालिकामा ९ र १० गते संचालन गरिने बताए ।
त्यस्तै जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सुमाईका अनुसार यसले सानै उमेरदेखि रोग प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्ने बताए । उनका अनुसार, पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी छ, त्यसैले लक्षित सबै किशोरीलाई यसमा सहभागी गराउने हाम्रो लक्ष्य रहेकाे उनले स्पष्ट पारे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक कमल थानीले याे समयमा स्वास्थ्यकर्मी र भाेलेन्टियरकाे मुख्य भुमिका रहने बताए । याे खाेप किशोरीहरूका लागि अति महत्त्वपूर्ण रहेकाे हुदा कसैले पनि नछुट्ने गरि खाेप लगाउन अपिल गरे ।

प्रकाशित मितिः   २०८२ चैत्र ४ at 2:52 pm 

  • कमेन्ट (Comment)