विद्यार्थी जीवनमा कलेज पढ्दा शनिबार घुम्दै जाँदा एउटा टोलमा पुग्दा स्थानीय टोलका १०-१२ वर्ष उमेरका बालकहरुले चना चट्पट बनाउदै गरेको मधेसी मूलको व्यक्तिलाई हेपेर होच्याएर बोलिरहेको देखेँ। कुनैकुनै बालकले त अश्लील पनि बोलिरहेका थिए। उसले चना चट्पट बनाउदै गर्दा उनीहरुले ठेलाबाट हातले झिक्दै चना, केराउ, भट्ट, भुजा मुक्याइरहेका थिए। कि किनेर खाऊ, कि घर जाऊ भनेर उसले सम्झाउदा पनि उल्टै असभ्य पाराले अश्लील बोलिरहेका थिए।
मसँगै बाटो हिँड्दै गरेकी एउटा विदेशी महिलाले यो सबै हेरिरहेकी र सुनिरहेकी रहिछन्। एकछिनपछि ती विदेशी महिलाले नजिक आएर सोधिन् ‘के तिमीहरुको आमाले यस्तै बोल्न र यस्तै गर्न सिकाएकी छिन्?’ तीमध्ये एउटाले जबाफ दियो, ‘आमाले नसिकाए पनि हामी आँफैले जानेक,’ उनले भनिन् ‘सानो हुँदा सिकाएको काम कुरा मात्र गर्ने हो। आँफैंले जानेको कुरा त ठूलो भएपछि मात्र काम लाग्छ।’ यति भनेर उनी बाटो लागिन् तर ती बालकहरु भने उनलाई खिसिट्युरी गर्दै ‘कुइरी’ ‘कुइरी’ भन्दै थिए। ती महिलाले भनेको कुरा ठीक हो कि होइन भनेर घरमा गएर आमासित सोध्नू। यति भनेर म पनि आफ्नो बाटो लागेँ।
त्यस्तै, जागिरे जीवनमा घटेको अर्को घटना पनि प्रस्तुत गर्न चाहन्छु। कुनै हिमाली जिल्लामा म लघुजलविद्युत योजना सञ्चालनको क्रममा कुनै एक तामाङ गाउँमा बसेको थिएँ। कलधाराको पानी असाध्यै चिसो भएकोले म गाउँबाट नजिकैको मुलको ढुङ्गेधारामा नुहाइधुवाइ गर्न गएको थिएँ। धारा नजिकै केही बालकहरु खेलिरहेका थिए। यसै क्रममा मैले पैसा झिकेर झोलाबित्र राखेँ, जुन ती बालकहरुले नियालिरहेका रहेछ्न्। नुहाइधुवाइ सकेपछि नजिकैको चौरमा लुगा सुकाउन जानुपर्ने भयो। ती केटाहरु त्यो पैसा देखेर कुरेर बसेका रहेछन्।
शंका लागेर मैले झोलालाई केही पर रहेको ठूलो ढुङ्गामाथी राखेर कपडा सुकाउन लागेँ। फर्केर हेर्दा एउटा केटो दौडदै उकालो लागेको देखियो। गएर झोलामा हेर्दा पैसा थिएन। त्यसपछि म पछ्याउदै गएँ तर ती सबै बालकहरु गाउँभित्र अलप भइसकेका थिए। मेरो कुरा कसैले सुनेन र म आफू बस्ने ठाउँमा गएर घरबेटीलाई सबै कुराको बेलिविस्तार लगाएँ। उनी जलविद्युत योजनाका कोषाध्यक्ष थिए। उनले सबैतिर बुझेछन्। गाउँको पसलमा ती बालकहरुले हजारको नोट लिएर चाउचाउ बिस्कुट किनेका रहेछन्। अनि बाँकी पैसा लुकाएर राखेका रहेछन्। उनिहरुले खर्च गरेको ७५ रुपैयाँ बाहेक मैले सबै पैसा फिर्ता पाउन सकेँ। र, म त्यो गाउँमा बसुञ्जेलसम्म ती केटाहरु मेरो नजिक पर्न आएनन्।
माथिका यी घटनाहरुबाट के बुज्न सकिन्छ भने बालबालिकाहरु गिलो माटो जस्तै हुन, जसको कुनै ठोस आकार हुँदैन। के बोल्ने के नबोल्ने र के गर्ने के नगर्ने भन्ने कुराको सहि आँकलन गर्न सक्दैनन्। आफ्ना अविभावकहरुले उनीहरुको बोली व्यवहार के कस्तो छ भन्ने कुरामा ध्यान दिनु जरुरी हुन आउछ। कुनै बालबालिकाले नराम्रो बोले वा खराब कार्य गरे भनेर अन्य व्यक्तिले गाली गरे वा कुट्पिट गरे बाबा आमाको मन दुख्छ र उल्टै प्रतिवाद गर्न तम्सिन्छन्। त्यसैले आफ्ना बालबालिकाहरुले राम्रो बोली व्यवहार गर्दा स्याबासी दिएर प्रोत्साहन गर्ने र खराब बोली व्यवहार गरे सम्झाइ बुझाई गर्ने र सजाय दिने गर्नुपर्दछ। आफ्नो घर नै बालबालिकाको पहिलो पाठशाला हो र बाबाआमा नै उनीहरुका लागि पहिलो शिक्षक हुन्।
अङ्ग्रेजीमा एउटा उखान छ, आफ्ना बच्चाहरुलाई नपिट्ने व्यक्तिहरुले पछि गएर आफ्नै छाती पिट्नु पर्नेछ। अर्थात् धेरै माया गर्नाले पनि बच्चाहरु बिग्रन सक्छन्। उनीहरुलाई समय दिएर असल बानी र राम्रो ज्ञानगुनका कुरा सिकाउनु हरेक अविभावकको कर्तव्य हुन आउँछ। भनिन्छ ५ वर्षको उमेरसम्म आमा भगवान हुन, ८ वर्षको उमेरसम्म बाबु र १६ वर्षको उमेरसम्म गुरु भगवान हुन्। त्यसपछिका भगवान सबैका भगवान हुन्। अहिले आएर हाम्रो वर्तमान जीवनशैली परम्परागत जीवनशैलिभन्दा भिन्न हुन थालेको छ। कतिपय बाबाआमालाई आफ्ना बालबच्चालाई समय दिन पनि फुर्सद हुँदैन। उनीहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य र सिकाइको प्रक्रियाबारे अभिभावक जानकार हुनु जरुरी हुन आउँछ। शिक्षकले विद्यार्थीलाई कुटे वा सजाय दिए मानव अधिकारको कुरा उठाउने वर्तमान समयमा बाबाआमाले नै पुरस्कार र सजायको व्यवस्था गरेर सही मार्गमा हिँडाउने प्रयत्न गर्नुपर्ने हुन आउँछ। अमेरिकामा आफ्ना छोराछोरिलाई कुटपिट गर्न पाइन्न। उचित रेखदेख र अर्ती उपदेश दिएर नै असल बोटोमा हिँडाउनु पर्छ भन्ने मान्यता रहेको छ।
हाम्रो नेपालमा वर्तमान खानपान, आहारविहार र खेल खेल्ने डिजिटल प्रविधिले गर्दा बालबालिकाको स्वास्थ्य र बिकासमा समस्या देखिन थालेको छ। किशोर किशोरीहरु पनि गम्भीर अपराधमा सरिक हुन थालेको तथ्याङ्कले बताउँछ। उनीहरुलाई नैतिक शिक्षा घरबाट नै दिलाई पाप र अपराध भनेको के हो? भन्ने छुट्याउन सक्ने गरी विवेकशील बनाउने जिम्मा पनि अविभावकको हातमा रहेको हुन्छ।
नवराज न्यौपाने । २०८१ जेष्ठ २६