१.
अलिअलि दिन्छन्, कनिका छर्छन् तिम्रो नाममा
पाँचतारेमा सेमिनार र गोष्ठी गर्छन् तिम्रो नाममा
सडकपेटीमा बालश्रम गरेको तिम्रो हालत बेचेर,
कसैले डलर कमाउछन्, गोजी भर्छन् तिम्रो नाममा l
– नारायण निर्भय/भरतपुर
२.
चुनौतिका आँधीमा टिक्न गरिबीले सिकाउँछ
असहजमा सहजता झिक्न गरिबीले सिकाउँछ
जीवनयापन सिकाउन काफी हुन्छ परिस्थिति
समस्यासँग जिन्दगी सिक्न गरिबीले सिकाउँछ ।
– विवेक रिजाल/हेटौंडा
३.
पढ्ने, खेल्ने, खाने उमेरमा दु:ख, अभावमा तानिएपछि
अनि संघर्षको त्यो मैदानमा आफू एक्लै छाडिएपछि
काम, कर्तव्यसँगै भोक, प्यास, निद्रा, थकान मेट्नुपर्छ
बाध्यताको बलोमा जिम्मेवारीको डोरीले बाँधिएपछी ।
– उमेश खत्री/खोटाङ
४.
मौरी झैँ लगनशील हुँदा जीवन आत्मनिर्भरको घार बन्दैछ
खुट्टाको धुलोबाट मेरो जीवन गलामा पहिरने हार बन्दैछ
पूरा जिन्दगी नै अभावै अभावमा यसरी बित्दै गर्दाखेरी
पढेर भन्दा परेर पाएको ज्ञाननै मेरो बाँच्ने आधार बन्दैछ।
– चन्द्रा दाहाल
५.
दिन्छ चाप, राप अनि ताप, भागमा असह्य भार दिन्छ
लुट्छ बाल स्वतन्त्रता र बाध्यतारूपी कारागार दिन्छ
धकेल्छ कसैलाई भाग्यले जिम्मेवारीको भुङ्ग्रे भट्टीमा
बर्तमानमाथी प्रहार गरेर, भविष्यानुकुल आकार दिन्छ l
– सुमन सिंगल/झापा
काठमाडौंमा संचालित ‘फोटोमा मुक्तक प्रतियोगिता’को एक सय १७६ औं शृङ्खला सम्पन्न भएको छ। फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रम काठमाडौंका सुनिल अधिकारीद्वारा परिकल्पना गरिएको नेपाली साहित्यको मुक्तक विधालाई उन्नयन र प्रवर्द्धन गर्नको लागि सुरुवात गरिएको कार्यक्रम हो।
प्रत्येक शृङ्खलामा ५ जना मुक्तककारलाई विजेता घोषणा गर्ने गरिन्छ। तिनै विजयी पाँच जना मुक्तककारका ५ वटा मुक्तकहरु फोटोमा मुक्तक प्रतियोगिताको एक सय ७६ औं शृङ्खलाबाट कनका खबरको अनलाइन पत्रिकाबाट छपाइँदै आइएको छ।
कनका खबर । २०८१ असार ३