
कार्मारोङ्गको समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा
मुगु, पुस १६
मुगु जिल्लामा नयाँ निकुञ्ज, संरक्षण क्षेत्र वा सिकार आरक्ष स्थापनाको विषयले चर्चा पाएको छ। मुगुम कार्मारोङ गाउँपालिकाले यस कदमले जिल्लाको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने ठहर गरेको छ।
मंगलबार गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको मुगु जिल्लाको क्षेत्रलाई छुट्टै निकुञ्ज वा संरक्षण क्षेत्रको रूपमा स्थापना गर्ने पहल संघीय सरकारले गरे, यसले स्थानीय जनताको समृद्धिको आधार तयार पार्ने उल्लेख गरिएको छ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा निकुञ्जका सेवा र सुविधाहरू प्राप्त गर्न जनतालाई भौगोलिक कठिनाइको सामना गर्नुपरेको अवस्थालाईý
समाधान गर्न छुट्टै संरक्षित क्षेत्रको स्थापना आवश्यक रहेको भनिएको छ।
प्राकृतिक स्रोतहरूको दिगो उपयोग र संरक्षणमा जोड
विज्ञप्तिमा भनिएको छ, “स्थानीय बासिन्दाले संरक्षण गर्दै आएको जैविक तथा प्राकृतिक स्रोतलाई सन्तुलित रूपमा उपयोग गर्न, पर्यटन प्रवर्द्धनमा योगदान गर्न, र प्रशासनिक सेवा सहज बनाउन नयाँ संरचना आवश्यक छ।”
गाउँपालिकाले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक समितिको स्वागत गर्दै, विस्तृत अध्ययन पछि सिफारिस भएमा नयाँ संरचना स्थानीय समृद्धिको मेरुदण्ड बन्ने विश्वास व्यक्त गरेको छ।
आधारहीन भ्रम नफैलाउन आग्रह
गाउँपालिकाले नयाँ संरचना बस्ती स्थानान्तरण, धार्मिक-सामाजिक सद्भावमा खलल वा अनावश्यक प्रशासनिक झन्झटको कारण बन्ने भनी फैलाइएका आधारहीन अफवाहप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।
अध्ययन कार्यदल गठन
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीको नेतृत्वमा ८ पुसमा अध्ययन कार्यदल गठन गरिएको छ। कार्यदलमा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, र मुगु डिभिजन वन कार्यालयका प्रतिनिधिहरू समावेश छन्।
यो पहलले मुगु जिल्लाको विकास, संरक्षण, र पर्यटन प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।











मोहन शाही । २०८१ पुष १७