नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले शारीरिक रूपमा अशक्त राम बहादुर सुनारलाई व्यक्तिगत सहयोग प्रदान गरेकी छन्। चन्दननाथ नगरपालिका–१० निवासी ३४ वर्षीय सुनारलाई काष्ठ कलामा प्रयोग हुने आवश्यक उपकरणहरू सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।
विगतमा कुशल काठमिस्त्रीका रूपमा चिनिएका राम बहादुर सुनार केही वर्षअघिदेखि शारीरिक अशक्तताबाट पीडित छन्। तल्लो शरीर पक्षघात भएपछि उनको दैनिकी प्रभावित भएको छ। उपचारको लागि भारतसम्म पुगिए पनि अपेक्षित सुधार हुन नसकेपछि उनी घरमै सीमित रहन बाध्य थिए। सीप र दक्षता हुँदाहुँदै पनि आवश्यक उपकरण अभावले उनी आफ्नो पेसा पुनः थाल्न सकिरहेका थिएनन्।
यिनै समस्यालाई मध्यनजर गर्दै उपप्रमुख खड्काले शनिबार आफ्नो घरमा बोलाई सुनारलाई करिब ३५ हजार बराबरका ९ प्रकारका काठकामका उपकरण (रन्ना, ह्याम्बर, ड्रिल मेसिन, ग्राइन्डर, रामा आदि) प्रदान गरेकी हुन्। उनले भनेकी छन्, “सानाे सहयाेगले राम बहादुरको सीप र कलाको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु।”
सुनारले उपकरण पाएपछि आफूले फेरि काठको काम गरेर आम्दानी गर्ने आशा पलाएको बताएका छन्। “शरीर चल्दैन, काम गर्न गाह्रो छ, तर अब घरमै बसेर पनि केही गर्न सक्छु भन्ने आत्मबल बढेको छ,” उनले भने ।
दलित, महिला, बालबालिका तथा सीमान्तकृत समुदायका सवालमा निरन्तर क्रियाशील उपप्रमुख खड्काले यसअघि पनि हिंसापीडित महिलाहरूको उद्धारका लागि आफ्नो पाँच वर्षको सम्पूर्ण सुविधा खर्चिने घोषणा गरिसकेकी छन्। उनले ती महिलाका लागि पूर्वाधार निर्माण, आश्रयस्थल स्थापना तथा अन्य सेवा सुविधामा खर्च गर्ने बताएकी छन् ।
यस सहयोगमार्फत उनले राम बहादुरजस्ता सीपयुक्त तर साधनविहीन व्यक्तिहरूको आत्मसम्मान जोगाउनुका साथै स्थानियस्तरमै काष्ठकला प्रवर्द्धनमा पनि योगदान पुर्याएकी छन्। उपप्रमुख खड्काको यो पहल सामाजिक न्याय र समावेशी विकासको उदाहरणीय कार्यको रूपमा हेरिएको छ।
प्रकाश उपाध्याय । २०८२ असार ८