भारतको कर्नाटक राज्यमा आयोजित ८औं टेकिओन मलनद अल्ट्रा ट्रेल रेस मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्वितीय स्थान हात पारेका जुम्ली धाविकाहरू राज्यलक्ष्मी रावल, मिमु बुढा, र कल्पना बुढाको जुम्लामा भव्य स्वागत गरिएको छ। कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित कार्यक्रममा उनीहरूको यो उपलब्धिलाई राष्ट्रिय गौरवका रूपमा सम्मान गरिएको छ।
टेकिओन मलनद अल्ट्रा ट्रेल रेस एशियाली स्तरको प्रतिष्ठित दौड प्रतियोगिता हो, जसलाई एशिया ट्रेल मास्टर (एटीएम ), इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आटिआरए), र अल्ट्रा-ट्रेल डु मोंट ब्लाङ (युटिएमबि) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले मान्यता दिएका छन्। कडा प्रतिस्पर्धा र चुनौतीपूर्ण भूगोलमा आयोजित यस प्रतियोगितामा सयौं धावकलाई पछि पार्दै जुम्ली धाविकाहरूले ऐतिहासिक सफलता हात पारेका हुन्।
राज्यलक्ष्मी रावलले ५० किलोमिटरको दौडमा प्रथम स्थान हासिल गरिन् भने मिमु बुढाले दोस्रो स्थान प्राप्त गरिन्। त्यस्तै, कल्पना बुढाले ३० किलोमिटरको दौडमा प्रथम स्थान जित्दै आफ्नो नाम इतिहासमा लेखाउन सफल भइन्।
जुम्लामा आयोजित सम्मान कार्यक्रममा क्लबले राज्यलक्ष्मी र कल्पनालाई विशेष सम्मान प्रदान गर्यो। सुर्खेतमा रहेकी मिमु बुढालाई व्यक्तिगत रूपमा समेट्न नसकिए पनि उनको सफलतालाई समान रूपमा सम्मान गरिएको छ।
अन्तर्राष्ट्रिय खेलमा नयाँ कोसेढुंगा
कार्यक्रमका दौरान कर्णाली स्पोर्ट्स क्लबका सचिव मधुराज न्यौपानेले जुम्ली खेलाडीहरूको प्रदर्शनले कर्णाली क्षेत्रको खेलकुद क्षमताको प्रमाण भएको बताए। “यो जीतले जुम्लाका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रेरणा प्रदान गर्नेछ,” उनले भने।
अन्तर्राष्ट्रिय धावक हरि रोकायाले जुम्ली धाविकाहरूको यो प्रदर्शनले अब नेपाललाई विश्व खेलकुद क्षेत्रमा चिनाउने अवसर प्रदान गर्ने बताए। “यो केवल व्यक्तिगत सफलता होइन, नेपालको खेलकुद क्षेत्रका लागि कोसेढुंगा हो,” उनले थपे।
कार्यक्रममा क्लबका अध्यक्ष सरोज शाहीले यो सफलता नेपालभरिका खेलकुदप्रेमीहरूको लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरे। उनले भने, “कठिन भूगोल र सीमित साधनका बाबजुद धाविकाहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेर नेपाललाई गौरवान्वित बनाएका छन्।”
खेलकुद विकासमा नयाँ दिशानिर्देश
जुम्ली धाविकाहरूको यो सफलताले खेलकुद क्षेत्रलाई बलियो बनाउने मात्र नभई स्थानीय युवा खेलाडीहरूको लागि मार्गनिर्देशक बनेको छ। सहभागीहरूले यस्ता प्रतियोगिताहरूको नियमित आयोजना र खेलाडीहरूको प्रोत्साहनमा ध्यान दिनुपर्नेमा जोड दिए।
यो ऐतिहासिक जितले जुम्लाका धाविकाहरूको प्रतिबद्धता र मेहनतलाई उजागर गर्दै अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा नेपालको उपस्थिति बलियो बनाउने विश्वास गरिएको छ।
विश्व प्रकाश । २०८१ मङ्सिर १४