लक्ष्य आफ्नो पुरा गर्न चुनौतीको सामना गर्नुपर्छ
उचाई देख्दै डराउनु हुन्न, हिम्मत लिई अघि सर्नुपर्छ
आफ्नो काममा अब्बल बन्दै बल बुध्दि जुक्ति लाउँदै
गन्तब्य चुम्न सजिलो छैन, साहसीक उडान भर्नुपर्छ ।
-शारदा देवकोटा/गोर्खा
विवेक अरू कसैले होइन, प्रकृति आफैले भरेको हुन्छ
बाँच्नकै लागि कठिन संघर्ष त पशुले पनि गरेको हुन्छ
बढी चेतनशील भएर के गर्नु कुकर्म गर्ने त मान्छे नै हो
पशुले घात गरेर आँत भर्दैन बरु भोकभोकै मरेको हुन्छ।
– प्रमोद भट्टराई ‘प्रतीक’/भक्तपुर
स्वीकार्न सकिन्छ भने चुनौतीको ललकार
पौडिने आँट छ भने विपरीत समयको धार
निडर भई हरपलमा जित्ने चाहना राख्नाले
जीवनमा भोग्नुपर्ने छैन अभाव र ठुलो हार l
– नवराज पौडेल/काठमाडौं
लक्ष्य एउटै फरक कर्म गर्न मन जागेपछि
रहरसँगै जोडिएको बाध्यताको बाटो लागेपछि
अनुभव ज्ञान पाउन हिम्मत आँटले सिकाएझैं
फराकिलो बाटो बन्दै जान्छ डरसँग नभागेपछि ।
-निर्मला दाहाल भट्टराई/ओखलढुंगा
उद्देश्यमा अडिग व्यक्तिहरू सधैँ आत्मबल जगाउँछन्
बारम्बार असफल हुँदै पनि सफलताको कडी समाउँछन्
समथरमै उचाइको बखान गरेर थाक्दैनन् निकम्माहरू
साहसीहरूले सगरमाथामाथि चढेर कीर्तिमान बनाउँछन्।
एम.बि.राई ‘मधुमास/मोरङ
काठमाडौंमा संचालित ‘फोटोमा मुक्तक प्रतियोगिता’को एक सय १७४ औं शृङ्खला सम्पन्न भएको छ। फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रम काठमाडौंका सुनिल अधिकारीद्वारा परिकल्पना गरिएको नेपाली साहित्यको मुक्तक विधालाई उन्नयन र प्रवर्द्धन गर्नको लागि सुरुवात गरिएको कार्यक्रम हो।
प्रत्येक शृङ्खलामा ५ जना मुक्तककारलाई विजेता घोषणा गर्ने गरिन्छ। तिनै विजयी पाँच जना मुक्तककारका ५ वटा मुक्तकहरु फोटोमा मुक्तक प्रतियोगिताको एक सय ६४ औं शृङ्खलाबाट कनका खबरको अनलाइन पत्रिकाबाट छपाइँदै आइएको छ।
कनका खबर । २०८१ जेष्ठ २२