ईभि भ्यान दुर्घटना हुँदा निर्वाचन प्रहरी सहित ७ जना घाइते, ३ जनाको अवस्था गम्भीर

जुम्लाको तातोपानी गाउँपालिका ६ धौलापानीस्थित कर्णाली राजमार्गमा आज दिउँसो EV भ्यान दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्। आज मिति २०८२ फागुन ७ गते करिब १२ बजे जुम्ला बजारबाट नाम्मातर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको EV भ्यान अनियन्त्रित भई सडकछेउमा रोकिराखेको क.प्र.०२–००१ त ०१९० नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो। ठक्करपछि भ्यान करिब ३०–४० मिटर तल बारीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। दिउँसो १२:५५ बजेसम्म सबै घाइते अस्पताल पुगिसकेका छन् र उपचार भइरहेको छ। प्रारम्भिक जाँचमा चालकले मदिरा सेवन नगरेको खुल्न आएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तातोपानी २ बाबिरा निवासी १९ वर्षीय चालक लोकेश खड्का घाइते भएका छन्। उनको खुट्टा र आँखामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ। तिला १ निवासी ३५ वर्षीया मेनुका बुढाको निधार र ढाडमा गम्भीर चोट लागेको छ। पातारासी ४ लुम निवासी ३१ वर्षीया माया नेपालीको टाउकोमा भित्री चोट लागेको छ भने तातोपानी ३ लिताकोट निवासी ४८ वर्षीया पुनि सुनारको छातीमा चोट लागेको छ। तिला २ निवासी २० वर्षीय टेकेन्द्र रावत सामान्य घाइते भएका छन् भने सोही स्थानका २० वर्षीय पारस रावतको शरीरमा भित्री चोट लागेको छ। हिमा २ निवासी २१ वर्षीय धर्मेन्द्र रोकायाको मुखमा गम्भीर चोट लागेको छ। घाइतेमध्ये तीन जना निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारी रहेका छन्।

दुर्घटनास्थल प्रहरी चौकी हाँकु बाट करिब २ किलोमिटर पश्चिममा पर्दछ। घटनापछि प्रहरी चौकी हाँकुबाट प्रहरी सहायक निरीक्षक शिवराज कुँवरको कमाण्डमा चार जनाको टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक निर्देश बरालको कमाण्डमा ट्राफिकसहित १२ जनाको प्रहरी टोली खटिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २०८२ फाल्गुन ७ at 1:45 pm 

  • कमेन्ट (Comment)