१.
वनको काडा तिखार्नु पर्दैन आफैं तिखो हुन्छ
गरिखाने पाइलाहरू दुनियाँ भन्दा छिटो हुन्छ
परिश्रम सजाऊ कर्ममा सारा ब्रह्माण्ड तिम्रो हो
चाखेर स्वयम् हेर प्ररिश्रमको फल मीठो हुन्छ।
– लक्ष्मी रायमाझी खड्का/विराटनगर
२.
मेहनतीहरू फलामलाई पनि नौनी जस्तै पगाल्न सक्छन्
समुद्रभित्र डुबेरै भए पनि बहुमूल्य मोती सँगाल्न सक्छन्
अल्छीहरू चिप्लेकिरा झैँ भुइँमै घिस्रिन्छन् पुग्दैनन् माथि,
परिश्रमीहरू लम्कँदै माथि पुग्छन्, खुसी अँगाल्न सक्छन्।
– ऋषिराम भुसाल/काठमाडौं
३.
असहज भीरको फल रैछ जीवन टिप्न सहज हुँदैन रहेछ,
सबको पीडा एउटै हुन् सक्ला कथा भने एउटै हैन रहेछ,
पढाईले भन्छ बुद्धि ठूलो अनि जिम्मेवारीले पैसा ठूलो,
अरे! यहाँ जिन्दगी बुझ्नलाई त्यति सजिलो छैन रहेछ।
-प्रविन नयन/इटहरी
४.
बाआमा साथ नभए पछि बाध्यताको नाम्लो बोकेकी हुँ
अझै साना छन् भाइबहिनी त्यसैले आँखाको आँसु रोकेकी हुँ
खै, मलाई पनि बाँच्न मन त छ नि यो बालापनमा रमाउँदै
बस्, भाग्यले ठगेपछि कर्तव्यको पाठ चुपचाप घोकेकी हुँ।
-भुमिका खनाल/ विराटनगर
५.
कलम कापी पाउनुभएन कुटो कोदालो चलाउनुहुन्छ
कृषक पेशा पसिनाका धाराले खेतबारी गलाउनुहुन्छ
तिम्रो सहरमा त ड्याडीले कुकुम्बर किनेर खुवानुहोला
हेर त मेरा बाबाले गाउँमा म जत्रै काक्रो फलाउनुहुन्छ।
-सावित्री अधिकारी/काठमाडौं
काठमाडौंमा संचालित ‘फोटोमा मुक्तक प्रतियोगिता’को एक सय १७३औं शृङ्खला सम्पन्न भएको छ। फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रम काठमाडौंका सुनिल अधिकारीद्वारा परिकल्पना गरिएको नेपाली साहित्यको मुक्तक विधालाई उन्नयन र प्रवर्द्धन गर्नको लागि सुरुवात गरिएको कार्यक्रम हो।
प्रत्येक शृङ्खलामा ५ जना मुक्तककारलाई विजेता घोषणा गर्ने गरिन्छ। तिनै विजयी पाँच जना मुक्तककारका ५ वटा मुक्तकहरु फोटोमा मुक्तक प्रतियोगिताको एक सय ६४ औं शृङ्खलाबाट कनका खबरको अनलाइन पत्रिकाबाट छपाइँदै आइएको छ।
कनका खबर । २०८१ जेष्ठ १४