जुम्लाको हिमा गाउँपालिकामा दोस्रो पढाइ मेला सुरु भएको छ। बुधबार उद्घाभएको मेला बिहिवार ओैपचारिक रुपमा सकिनेछ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार देखि बालबालिकाकाे प्रतिभा पहिचान गर्न अघिल्लो वर्षदेखि मेलाको आयोजना गर्न थालिएको हो। दोस्रो पढाइ मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य रुपा विश्वकर्माले गरेकी हुन।
पढाइ मेलाको उद्घाटन गर्दै सांसद विकले शिक्षा क्षेत्रमा हिमा गाउँपालिकाले अनुकरणीय काम गरेको हुनाले सिंगो जुम्ला र देशका निम्ति उदाहरण बन्ने बताइन्।
‘हामीले आर्थिक, साँस्कृति मेला धेरै आयाेजना हुने गरेकाे देखेका छाैं। तर पढाइ मेला हिमामा मात्रै भइरहेको छ,’ उनले भनिन्, ‘यो नमुना मेलाको प्रमुख अतिथि हुन पाउनु मेरा निम्ति खुसीको कुरा हो। निन्त्तर दाेस्राे वर्ष आयाेजित पढाइ मेलाले विद्यार्थी अभिभावक शिक्षामा जागरण ल्याउनेमा विश्वस्त छु भने देशका अरु पालिकाले पनि यस्तो काम गरेको हेर्ने तिब्र चाहना छ।’
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले सामुदायिक विद्यालय नसुधारिएसम्म समाजमा विभेद र वर्गीय खाडल झन् बढ्लै जाने बताइन्। उनले थपिन्, ‘हुनेखानेले पढ्ने निजी विद्यालय र हुँदा खानेले सरकारी विद्यालयमा पढ्नुपर्ने जस्तो बाध्यात्मक स्थिति बदलिनु पर्छ।’
सांसद विकका अनुसार विभेद घटाउन सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्नुपर्छ। जो सभ्य समाजको सारथी हो। यो समाजमा विद्यमान विभेदको बिम्ब बदल्ने मियो बन्नेछ।
संविधान सभा सदस्य तथा नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहील शिक्षाकाे विकास बिना भाैतिक विकासकाे अर्थ नहुने कुरालाई हिमाकाे पढाइ मेलाले पुष्टि गरेको बताए।
‘जुम्लाका आठवटा पालपका मध्ये हिमा सरकार जनताकाे मन जित्ने काम गर्दै गएकाे छ। अझै जनमुखी काम गर्दै जाने विश्वास लिएको छु,’ उनले भने, ‘ग्रामिण क्षेत्रसम्म शैशिक जागर फैलिएपछि देश विकास हुन्छ। यसका लागि सामुदायिक विद्यालयलाई अब्बल बनाउन जरुरी छ।’
उनका अनुसार हिमा गाउँपालिकाले हरेक वर्ष आयोजना गर्ने पढाइ मेला शैक्षिक गुणस्तरको मियो हो। जसको इतिहासमा समेत लेखाजोखा हुनेछ।
जनताले निर्वाचित गरेको दिनदेखि हिमाकाे स्वास्थ्य, शिक्षा सुधारका लागि निरन्तर लागिरहेकाले नमुनाको रुपमा परिचित पढाइ मेलाको निरन्तर दिन सकिएको हिमन गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए।
‘अनेक प्रतिकुलताका बाबजुद पनि हिमाको शैक्षिक स्तर विद्यार्थी अनुकुल छ। यहाँका विद्यालयमा पढाउने शिक्षक उदाहरणीय हुनुहुन्छ,’ उनले भने, ‘हिमाका केही विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ। याे नमुना प्रयाेग हाे।’
उनले हिमाका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ गरिने लक्ष्यलाई यसरी पुष्टि गरे, ‘जहाँसम्म शिक्षालाई अंग्रेजी माध्यमसँग जाेडिएकाे छ, त्याे अहिलेकाे जमानामा देशकाे शिक्षा नीतिसँग जाेड्नु उपयुक्त हुन्छ। अबकाे श्रम बजार भनेकाे विश्वबजार हाे। त्यहाँकाे प्रतिस्पर्धामा अब्बल सावित हुन पनि माध्यम भाषा त चाहिन्छ नै।’
उनका अनुसार हिमालाई विश्व समुदायसँग ज्ञानकाे माध्यमबाट जाेड्ने उदेश्य छ। प्राविधिक जनशक्तिमा गरीब जनताका छाेराछाेरीकाे पहुँच पुगाेस् भनी नयाँ आर्थिवर्षबाट डाक्टर, पाइलट र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई प्रतिव्यक्ति १० हजार छात्रवृत्ति दिने कार्यक्रम तय गरिएको छ।
हिमामा भइरहेकाे कर्णालीकै पहिलाे पढाइ मेला सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने एक अस्त्र भएको अध्यक्ष शाहीको भनाइ छ। उनले थपे, ‘विद्यार्थी शिक्षक अभिभावक बीचका ज्ञान सिप अनुभव आदान प्रदान गर्ने, स्थानीय स्रोत साधनबाट विभिन्न सामाग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने, पठन सीपको विकास, सिकाई उपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न पढाई मेला गरेका हाैं।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, नेपाली काँग्रेसका पूर्व पार्टी, सभापति दिप बहादुर शाही, नेकपा एमालेका जय बहादुर खत्री, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढा, लगायतले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधार गर्न तथा बालबालिकाको पहुँच वृद्धिका लागि पढाइ मेला कार्यक्रम प्रभावकारी भएको बताए।
हिमा गाउँपालिका–१ स्थित रुपाकाेट आधारभूत विद्यालयमा आयोजित पढाई मेलामा पालिकाका सात वडाका सबै विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका छन्।
जसमा स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि तथा उद्यमशीलता सामाग्री, विषयगत पठन सामाग्री निर्माण, विद्यार्थीहरूले आफै निर्माण गरेका सृजनात्मक सामाग्रीहरू –कथा कविता, निबन्ध, गीत, त्यस्तै, चित्रकला, हस्तकला सम्बन्धी बनाएका सामाग्री, प्रर्दशन गरेका छन्।
अन्नबाट नेपालकाे नक्सा, डाेजर, जहाज, हलाे जुँवा, झण्डा, विभिन्न आकृति समेत बनाएका थिए। साथै अन्तरविद्यालय स्तरीय देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य र कम्प्युटर टाइपिङ, मेमाेरी गेम लगायत प्रतियोगिता र स्टल प्रर्दशनमा उत्कृष्ट आउने विद्यालय र विद्यार्थीलाई पालिकाले पुरस्कार समेत दिदै आएकाे छ।
दाेस्राे पढाईमा मेलामा हजाराैंकाे संख्यामा सहभागी अभिभावककाे उत्साहले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेला उपयोगी बनेको हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलले बताए।
प्रथम पढाइ मेलाको व्यवस्थापन आफ्नो विद्यालयमा गरका उनले भने, ‘इच्छा शक्ति भएको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारमा कुनै कठिनाइ हुँदैन। त्यसलाई देखाउने र अनुभव आदानप्रदान गर्न मेला जरुरी छ।’
महेश नेपाली । २०८१ असार ६