जुम्लामा ब्यबस्थित र सुन्दर बजार निर्माणका लागि जुगाडखोला करिडोर निर्माण हुँदै 

जुम्लाको सदरमुकाम खलंगाको बीचमा उत्तर दक्षिण बग्ने जुगाडखोलामा लामो समय पछि जुगाड करिडोर निर्माण हुने भएको छ । उक्त करिडोरको फागुन छ गते शिलान्यास गरिएको हो। सदरमुकाममा रहेको खोलालाई स्वच्छ सफा, हराभरा र व्यवस्थित बनाउने उद्देश्यले करिडोर बनाउन थालिएको हो ।

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले ‘जुगाडखोला करिडोर’ निर्माण गर्न थालेको हो ।

निर्माण हुने उक्त करिडोरले नयाँ पहिचान दिने चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले बताइन् । “करिडोर आफैंमा आकर्षणको केन्द्र बन्नेछ,” उनले भनिन्, “सफा र कन्चन खोलाको दृश्यले नगरबासी मात्र होइन, बाहिरी पर्यटकलाई समेत लोभ्याउने विश्वास व्यक्त गरिन् ।”

नगरपालिकाले पर्यटन पूर्वाधार निर्माणका लागि करिडोरको रेखांकन यस अघि नै गरिसकेको थियो । खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरी काम सुरु गरिएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षभित्रै तीन किलोमिटर क्षेत्रमा करिडोर निर्माण गरिने नगर प्रमुख राजुसिंह कठायतले बताए ।

“खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ–४ मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो करिडोर निर्माण हुनेछ,”

उनले भने ;सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाउन नगरपालिकाले घरधनीहरूलाई सूचना जारी गरिसकेको छ । अवरोध नगरे सहमतिमै हटाइने, अटेर गरे डोजर प्रयोग गर्न बाध्य हुने नगरपालिकाको स्पष्ट सन्देश छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले सहकारी विकास तथा भवन निर्माण आयोजनाबाट २० करोड सहयोग प्राप्त भएको बताए ।

उनले भने, “करिडोरले जुगाडखोलालाई हराभरा बनाउँदै व्यवस्थित राख्नेछ । नगरपालिकाले पनि विशेष प्राथमिकता दिएर काम अघि बढाइसकेको छ।”

करिडोरभित्र स्ट्रीट लाइट, सीसी क्यामरा र विश्राम स्थल निर्माण गरिनेछ । जुगाडखोलाको सफाइ र सौन्दर्यकरणसँगै यो करिडोर स्थानीयका लागि मात्रै होइन, बाहिरी आगन्तुकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २०८१ फाल्गुन ७ at 11:28 am 

  • कमेन्ट (Comment)