दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।

आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

सोमबार बिहान कप्तानगंजको अवस्था सामान्य छ । थप दुर्घटना हुननदिन स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगंजको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

हरिनगरा बजार क्षेत्रको पूर्वतर्फ नूनिया टोल, पश्चिम तर्फ खुनिया धार, उत्तर तर्फ हरिनगर गापा कार्यालय र दक्षिण तर्फ बसन्तपुर मोडसम्म कर्फ्यु जारी भएको छ ।

प्रकाशित मितिः   २०८३ साउन ११ at 7:51 am 

  • कमेन्ट (Comment)