संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्याबीचको ऐतिहासिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै हवाई सेवा मार्फत जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागले बुधबार आयोजना गरेको ‘विश्वफलक पर राम: साहित्यिक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा’ विषयक अन्तरविषयक अन्तर्राष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले यस दिशामा मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो।
मन्त्री पाण्डेका अनुसार जनकपुर र अयोध्याबीचको सम्बन्ध मात्र धार्मिक र सांस्कृतिक नभई दुई देशका नागरिकहरूबीचको ऐक्यबद्धता र सद्भावको प्रतीक हो। यसलाई हवाई सेवाबाट जोड्न सके धार्मिक पर्यटन प्रवर्द्धन हुने मात्र होइन, जनकपुरलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
कार्यक्रममा मन्त्री पाण्डेले रामको मार्गदर्शन आजको समयमा झन् सान्दर्भिक हुँदै गएको बताउँदै विश्वभर रहेका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनर्जागरणमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो। “रामले देखाएको मार्गदर्शन आजको मानव सभ्यताको सुधार र सहअस्तित्वका लागि मार्गदर्शक बनेको छ,” मन्त्री पाण्डेले भन्नुभयो।
दुई दिनसम्म चल्ने संगोष्ठिमा विभिन्न देशका प्रतिनिधिहरूले भगवान् रामका विविध पक्षहरूमा छलफल गर्नेछन्। मन्त्री पाण्डेले नेपालका सांस्कृतिक विविधतालाई विश्वभर फैलाउन अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई आह्वान पनि गर्नुभयो। उहाँले नेपाललाई सांस्कृतिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सबैको सहकार्य आवश्यक रहेको पनि बताउनुभयो।
यस प्रकारका अन्तर्राष्ट्रिय कार्यक्रममा जनकपुर–अयोध्या सम्बन्धलाई थप गहिरो बनाउने र यसलाई विश्व पर्यटन नक्शामा स्थापित गर्ने अवसर रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउने योजनामा सरकार रहेको जानकारी दिनुभयो।
संगोष्ठीमा नेपाल र भारतका विभिन्न क्षेत्रका विद्वान्, प्राध्यापक, तथा प्रतिनिधिहरू सहभागी भएका छन्। कार्यक्रममा भगवान रामको सांस्कृतिक, साहित्यिक, र सामाजिक महत्त्वमाथि विशेष प्रस्तुति हुने बताइएको छ।
प्रकाश उपाध्याय । २०८१ मङ्सिर १२