लामो समयसम्म शिक्षा क्षेत्रमा अमूल्य योगदान पुर्याएका सिंजा गाउँपालिका वडा नं. ३ माथिल्लो गाठीका स्थायी बासिन्दा कालीबहादुर बुढाले शिक्षक पेसाबाट स्वेच्छाले राजीनामा दिएका छन् । २४ वर्षको उमेरबाट शिक्षण पेसामा होमिएका बुढाले विभिन्न विद्यालयहरूमा अस्थायी र स्थायी गरी करिब ३३ वर्षसम्म निरन्तर सेवा पुर्याएका छन् ।
उनले आफ्नो शिक्षण यात्राको अन्तिम १४ वर्ष श्री सिंजा माध्यमिक विद्यालय, चुलेलगाउँमा बिताएका थिए । यसअघि उनले जोडु प्राथमिक विद्यालय र गाणापानी निम्न माध्यमिक विद्यालयलगायतका विभिन्न शिक्षण संस्थाहरूमा समेत आफ्नो सेवा प्रदान गरिसकेका छन् ।
५८ वर्ष उमेर पुगेका बुढाको सेवा अवधि अझै २ वर्ष ७ महिना १९ दिन बाँकी रहँदै उनले पदबाट अलग हुने निर्णय लिएका हुन् । पेसागत जीवनका बाँकी वर्षहरूलाई औपचारिक शिक्षणभन्दा बाहिर रहेर पूर्ण रूपमा समाजसेवामा खर्चिने उनको अङ्क्रेज छ ।
स्थानीय समुदायमा एक अनुभवी, लगनशील र समर्पित शिक्षकका रूपमा परिचित बुढाको यस निर्णयलाई स्थानीय बासिन्दाहरूले खुला हृदयले स्वागत गरेका छन् । शिक्षक पेसाबाट बिदा लिएसँगै उनले आफ्नो ज्ञान, सीप र बाँकी समय गाउँ समाजको मुहार फेर्न, सामाजिक सद्भाव कायम राख्न तथा विभिन्न सेवामूलक गतिविधिहरूमा केन्द्रित गर्ने योजना बनाएका छन् ।
“मेरो सेवा अवधि अझै बाँकी नै थियो, तर अब आफ्नो सम्पूर्ण ऊर्जा समाजसेवामा लगाउने उद्देश्यले मैले राजीनामा दिएको हुँ,” बुढाले बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय बिताएर अब सामाजिक रुपान्तरणको अभियानमा सक्रिय बनेका उनको यस दूरदर्शी र सकारात्मक निर्णयबाट गाउँपालिका क्षेत्रको सामाजिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।











कनका खबर । २०८३ मङ्सिर ३