गजल


पत्ता लगाउन सक्दैन भ्रष्टकाे दुलाे गरीबले।
सधै अभावको त्रासमा बाल्छ चुलाे गरीबले।

सरकार स्वास्थ्य शिविर गरिरहेकाे छ यहाँ,
नपाएरै मरेका छन्, ओखती मुलाे गरीबले।

हेलिकप्टरको सवारमा आउनुहुन्छ नेता ज्यू!
स्वागतमा बसेर खानुपर्छ धुवाँ-धुलो गरीबले।

सामान्य जागिर खान लाखौंको घुस दिनुपर्छ,
मित्र ! यहाँ नदेख्दा हुन्छ सपना ठूलाे गरीबले।

कतिन्जेल चल्छ धनीहरूको होडबाजी यहाँ ?
कतिन्जेल बगाउनुपर्छ रगतको कुलो गरिबले।

प्रकाशित मितिः   २०८१ असार १ at 9:36 pm 

  • कमेन्ट (Comment)