गुठिचौर गाउँपालिका साक्षर घोषणा : कार्यक्रममा सीमित नराख्न सुझाव

जुम्ला – जुम्लाको गुठिचौर गाउँपालिका साक्षर गाउँपालिका घोषणा गरिएको छ। जिल्लाको अन्तिम साक्षर पालिकाको रूपमा गुठिचौरलाई साक्षर घोषित गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुठिचौरलाई साक्षर पालिका घोषणा गरियो।

गाउँपालिकाका ९५.७३ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकपछि यस घोषणाले मूर्त रूप लिएको हो। दुई महिनासम्म वडाहरूमा गरिएको घरधुरी सर्वेक्षण, साक्षरता कक्षा सञ्चालनलगायतका कार्यक्रमपछि साक्षरता सुनिश्चित भएको शिक्षा शाखा प्रमुख सिंहमान रावतले जानकारी दिए। उनका अनुसार साक्षर घोषणाका लागि तोकिएका १२ सूचकहरूमध्ये ८० प्रतिशत उपलब्धि हासिल भएको छ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार, साक्षरता अभियानले निरक्षर नागरिकलाई आधारभूत साक्षरताको पहुँचमा ल्याउन मद्दत गरेको छ। यसमा आफ्नो नाम लेख्न सक्ने, घडी हेर्न जान्ने, मोबाइल चलाउन सक्ने, ट्राफिक नियम पालना गर्न सक्ने जस्ता क्षमताहरू समावेश छन्। गुठिचौरका १५ देखि ६० वर्ष उमेर समूहका ६,५०३ जना साक्षर बनेका छन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले साक्षरता घोषणालाई व्यवहारमा लागू गर्न जोड दिए। उनले साक्षर घोषणा कार्यक्रम मात्र नभई दिगो विकासका लक्ष्य पूरा गर्ने दिशामा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

सहभागीहरूले साक्षर घोषणालाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिँदै कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरिनुपर्ने धारणा राखेका छन्।

प्रकाशित मितिः   २०८१ मङ्सिर ६ at 9:46 pm 

  • कमेन्ट (Comment)