जुम्लामा नेपाली कांग्रेसको “जरा अभियान” सुरु, आठै स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने

नेपाली कांग्रेस जुम्लाले “जरा अभियान” अन्तर्गत जिल्लाभर कार्यक्रम सञ्चालन गर्ने भएको छ। मिति २०८३ साल वैशाख ८ गतेदेखि अभियान औपचारिक रूपमा सुरु गरिएको हो। पार्टीका केन्द्रीय सदस्य छाँया सुनारको प्रमुख आतिथ्यमा तथा कार्यवाहक सभापति दीपक शाहीको सभापतित्वमा अभियानको उद्घाटन गरिएको जानकारी दिइएको छ ।

अभियानअन्तर्गत जुम्लाका आठै स्थानीय तहमा विभिन्न मितिमा कार्यक्रम सञ्चालन गरिनेछ । सोही कार्यक्रम तालिका अनुसार वैशाख १० र ११ गते गुठीचौर गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरिने तय गरिएको छ भने १२ गते पातारासि गाउँपालिकामा कार्यक्रम तय गरिएको छ । स्थानीय स्तरमा पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ ।

नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीका अनुसार अभियानले पार्टीलाई आधारभूत तहसम्म बलियो बनाउने अपेक्षा गरिएको छ। उनले जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गरिने र त्यसमार्फत जनताको समस्यासँग प्रत्यक्ष संवाद गरिने बताए ।

गुठीचौरमा हुने कार्यक्रममा नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। अभियानले पार्टीभित्र एकता, सक्रियता र संगठनात्मक मजबुती ल्याउने विश्वास लिइएको छ ।

स्थानीय तह केन्द्रित यस अभियानले आगामी दिनमा पार्टीको राजनीतिक प्रभाव अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   २०८३ बैशाख ९ at 7:57 am 

  • कमेन्ट (Comment)